Logo
११ श्रावण २०८१, शुक्रबार
(March 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम सहित मन्त्रिपरिषद विस्तार हुँदै, ४ बजे शपथ ग्रहण

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले सम्भवतः आजै (शुक्रवार) मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । थप भएका मन्त्रीहरुकाे आजै ४ बजे शपथ ग्रहण कार्यक्रम राखिएको राष्ट्रपति कार्यालय स्रोतले पुष्टी गरेकाे छ । आज मन्त्रिपरिषद विस्तार हुने भनिए पनि को-को मन्त्री बन्दै छन् भन्ने कुनै पनि दलले आधिकारीक जानकारी दिएको छैन ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले दिएको जानकारी अनुसार आज मन्त्रिपरिषद विस्तार हुने सम्भावना रहेको छ । ‘मन्त्रिपरिषद आजै विस्तार हुने सम्भावना छ,’ उनले भने । गत फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका ओलीले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा ल्याउन मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई गरिरहेका थिए ।

एक महिना अवधिमा प्रधानमन्त्री ओलीले फोरम र राजपालाई आफ्ना पक्षमा ल्याएका छन् । दुवै दलले संसद्मा ओलीका पक्षमा विश्वासको मत दिए । त्यसैले अबको विस्तारमा दुवै दललाई समेट्ने तयारी छ । फोरमसँग अन्तिम कुराकानी भइसकेको छ । त्यसैले अबको विस्तारमा फोरम पनि सहभागी हुँदैछ ।

फोरमले वाम गठबन्धनसँग तीनवटा मन्त्रालय मागेको छ । तर गठबन्धनले दुइटा मात्र दिने तयारी गरेको छ । दुइटा मन्त्रालय पाउँदा राष्ट्रिय सभाको उपाध्यक्ष वा उपसभामुख आफूले पाउनुपर्ने अडान फोरमको छ । तर उपसभामुखमा एमालेले आफैं उम्मेदवारी दिएकाले अब दुई मन्त्री र एक राज्यमन्त्री फोरमलाई दिने सम्भावना छ ।

राजपा भने तत्कालै सरकारमा सहभागी हुने कि नहुने भन्ने स्पष्ट भइसकेको छैन । शुक्रबार उनीहरूसँग पनि अन्तिम कुरा गर्ने तयारी गठबन्धनको छ । राजपासँग कुरा नटुंगिए पनि अब पर्खने मनस्थितिमा प्रधानमन्त्री छैनन् । फोरमलाई मात्र लिएर भए पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने उनको योजना छ ।

प्रकाशित मिति: Mar 16, 2018

प्रतिक्रिया दिनुहोस्