Logo
१२ श्रावण २०८१, शनिबार
(March 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलाको विमान दुर्घटना दुःखद र गम्भीर घटना : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनालाई नेपाल सरकारले दुःखद र गम्भीर घटनाका रुपमा लिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै प्रधानमन्त्री ओलीले उक्त अकल्पनीय र त्रासदीपूर्ण घटनामा परी मृत्युहुनेहरुमा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उक्त दुर्घटनाका कारण भएको मानवीय क्षतिबाट नेपाल, बंगलादेश र चीन शोक सन्तप्त भएको बताउँदै उनले उद्धार र उपचारमा संलग्नहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले घटनालगत्तै आफू स्थलगत अवलोकनमा गएको तथा बंगलादेशका प्रधानमन्त्रीसँग टेलिफोन गरी उद्धार र उपचारमा कुनै कमजोरी नहुनेमा आश्वस्त पारेको उल्लेख गर्दै घटनाबारे सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्ले जाचँबुझ आयोग गठन गरेको र सो आयोगबाट प्राप्त प्रतिवेदनपछि गर्नुपर्ने आवश्यक काम गरिने छ भनेका छन् । प्रयोगशालाको परीक्षण छिटो गरी आफन्तलाई छिटो शव हस्तान्तरण गर्न सरकार क्रियाशील रहेको पनि उनले स्पष्ट पारे।

प्रधानमन्त्री ओलीको वक्तव्यपछि बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गएको गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको ढाकाबाट काठमाडौँ आएको युएस बंगला एयर अवतरणका क्रममा दुर्घटना भई आगलागी हुँदा २२ जना नेपाली, चालक दलका सदस्यसहित २८ जना बंगलादेशी र एकजना चिनियाँ नागरिकसहित ५१ जना यात्रुको निधन तथा २० जना घाइते भई उपचाररत भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्ने विशेष प्रस्ताव पारित भयो ।

प्रस्तावमा निधन भएकाहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । बैठकमा दुर्घटनामा परी निधन भएकाहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।

प्रकाशित मिति: Mar 16, 2018

प्रतिक्रिया दिनुहोस्