Logo
१२ श्रावण २०८१, शनिबार
(March 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चैत ९ गते उपराष्ट्रपति निर्वाचन : बन्लान् त महन्थ ठाकुर ?

काठमाडौं : निर्वाचन आयोगले उपराष्ट्रपतिको निवाचन चैत ९ गते गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षता आज बसेको बैठकले उपराष्ट्रपतिको निर्वाचन सोे मितिमा गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगका अनुसार चैत ९ गते शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुनेछ ।

निर्वाचन कार्यतालिकाअनुसार, चैत १ गते मतदाता नामावली प्रकाशन, चैत ३ गते उम्मेदवारी दर्ता तथा चैत ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।  राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र आयोगले उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने कानूनी व्यवस्था छ । उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायका व्यक्तिलाई उम्मेदवारका रूपमा मनोनयन गर्नुपर्ने व्यवस्था छ ।

फागुन २९ गते सम्पन्न राष्ट्रपति निर्वाचनबाट नेपालको राष्ट्रपतिमा खस आर्य समुदायका महिला श्रीमती विद्यादेवी भण्डारी निर्वाचित भइसक्नु भएको छ । उपराष्ट्रपति पदका लागि सोही लिङ्ग वा समुदाय भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्न गराउन पाइने निर्वाचन आयोगले जनाएको छ । आयोगले उपराष्ट्रपतिको निर्वाचन तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न तयारी शुरु गरिसकेको जनाएको छ ।

बन्लान् महन्थ ठाकुर ?

यता, राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरलाई उपराष्ट्रपति दिएर उसको पार्टीलाई सरकारमा सहभागि गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना पूरा नहुने देखिएको छ । प्रधानमन्त्री ओलीले पहिलो भेटमा नै उपराष्ट्रपति लिएर सरकारमा सहभागि हुनुपर्छ भनि महन्थ ठाकुरलाई गरेको प्रस्तावलाई माओवादी केन्द्रले अस्वीकार गरेको छ । उपराष्ट्रपतिमा नन्दबहादुर पुन पुनः दोहोरिने दवाव पार्टीमा पर्न थालेपछि राजपा नेपालका संयोजक ठाकुरलाई उपराष्ट्रपति दिन माओवादी केन्द्र तयार नरहेको स्रोतले जनाएको छ ।

त्यसो त माओवादी केन्द्र राजपा नेपाललाई सरकारमा ल्याउन सकारात्मक देखिएको छ । माओवादी केन्द्रका एकजना नेताले भने, ‘राजपा नेपालमा अतिवाद देखिएको छ । त्यो पार्टीका निर्णय प्रणालीदेखि लिएर अन्तर्राष्ट्रिय सम्बन्ध पनि राम्रो नदेखिएका कारण त्यो दललाई सरकारमा ल्याउन हाम्रो त्यति चाहना छैन ।’ एमालेले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दाहोर्याएपछि नन्दबहादुर पुन पनि दोहोरिनुपर्छ भनि पार्टीमा दबाब परेको छ त्यसैले अरु कुनै पार्टीलाई उपराष्ट्रपति नदिने माओवादी केन्द्रको तयारी रहेको छ । राजपा नेपाल सरकारमा आउन चाह्यो भने राष्ट्रियसभाको उपाध्यक्षसम्म दिन सकिने माओवादी केन्द्रको सोच रहेको एमालेका एक नेताले बताए ।

यद्यपि एमालेका सचिव प्रदीप ज्ञवालीले छलफलमा अनेक कुराहरु उठ्छन् तर सहमति भएपछि मात्र त्यसलाई सत्य मान्न सकिने बताउँदै संयोजक ठाकुरलाई उपराष्ट्रपति दिने विषयमा खासै छलफल नभएको बताए । कसैले उनलाई व्यक्तिगत रुपमा प्रस्ताव गरेको होला त्यो कुरा आफूलाई थाह नभएको तर त्यस विषयमा औपचारिक छलफल नभएको उनले बताए ।

प्रकाशित मिति: Mar 14, 2018

प्रतिक्रिया दिनुहोस्