Logo
१२ श्रावण २०८१, शनिबार
(March 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेशम चौधरीलाई जञ्जिरले बाँधिएको देखेर महन्थ ठाकुरले ओलीलाई थर्काएपछी …!

काठमाडौं : आफुले न्याय पाउनुपर्ने भन्दै करागारबाटै आमरण अनसन थालेर हाल वीर अस्पतालमा उपचाररत रहेका सांसद रेशम चौधरीलाई अस्पतालको बेडमा जञ्जिर लगाएर बाँधिएर राखिएको पाइएको छ । सांसद चौधरीको स्वस्थ्य अवस्था बिग्रेपछि उनलाई काठमाण्डौ ल्यायएको थियो ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर समेतका नेताहरु अस्पताल पुग्दा उनलाई त्यहाँ जञ्जिर लगाएर बाँधिएको अवस्थामा पाइएको हो । चौधरीलाई त्यहाँ त्यस्तो अवस्थामा देखिएपछि ठाकुरले अस्पतालबाटै प्रधानमन्त्री केपि शर्मा ओलीलाई फोन गरेर कड्किएका छन् ।

संयोजक ठाकुरले उनको अवस्था हेरेर सहन नसकि त्यहीबाट प्रधानमन्त्रीलाई फोन गरेका हुन् । संयोजक ठाकुर वीर अस्पतालको २९० नम्बर कोठामा पुग्दा रेशम चौधरी भक्कानिएर रुन थालेका थिए । स्लाइन पानी चढाइरहेका रेशम चौधरीलाई जञ्जिर लगाएर बेडमा बाँधिएको थियो । रेशम चौधरीको अवस्था हेर्दा महन्थ ठाकुर मात्र होइन, उनका साथमा गएका प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, सांसद अनिलकुमार झा, प्रमोद साहलगायतका नेताहरु पनि भावुक भएका थिए ।

‘के हो यस्तो, यसैका लागि तपाईलाई हामीले समर्थन गरेका हौं, तपाईले के भनेर हामीलाई आश्वासन दिनुभएको थियो, एकजना सांसद जो अस्पतालमा उपचार गराई रहेका छन्, उसलाई यसरी जञ्जिर लागेर राख्न पाईन्छ ?’ प्रधानमन्त्री ओलीलाई ठाकुरले यसरी कड्किएका हुन् । उनले हजारौं जनताले मत दिएको जनप्रतिनिधिलाई यसरी राक्षसी ब्यवहार किन भन्दै ओलीलाई प्रशन गरेका थिए । ठाकुरसमक्ष रेशम चौधरीले रुँदै भने, ‘तपाईकै विश्वासमा मैले सेलेण्डर गरेको हुँ । तर, आज यो अवस्थामा पुगेको छु ।

तपाईहरुले चाँडै पहल गरेर मलाई यहाँबाट निकाल्नुस् ।’ यसरी चौधरीले रुँदै भनेपछि ठाकुरको पनि आँसु थामिएको थिएन । भावुक भएका ठाकुरले गृहमन्त्री रामबहादुर थापा बादललाई फोन लगाउन आफ्ना सहयोगीलाई भनेका थिए । तर, मन्त्री थापा एउटा कार्यक्रममा भएको हुनाले उनीसँग सम्पर्क हुन सकेको थिएन ।

त्यसपछि प्रधानमन्त्री ओलीलाई फोन लगाइएको थियो । प्रधानमन्त्री ओलीले ठाकुरसँग कुरा गर्दै आजै नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापासँग कुरा गरेर एक दुइदिनमा यसको टुगों लगाउने आश्वासन दिएका थिए ।

‘ जञ्जिर लगाएर बाँधिएको घट्ना त वास्तवमै अमानविय हो, म तत्कालै पहल गर्छु, एक नेताले उनको भनाई उदृत गर्दै भने गृहमन्त्रीलाई प्रधानमन्त्रीले तत्कालै निर्देशन दिएका छन् । अनसनमै रहेका चौधरीलाई स्लाइन पानी चढी रहेको र खुट्टामा जञ्जिर बाँधिएको दृश्यले जसको पनि मन रुवाइदिन्छ, सर्लाहीबाट निर्वाचित राजपा सांसद प्रमोद साहले भने, ‘चौधरीलाई प्रहरीले समातेको होइन, उहाँ आफै हाजिर हुनुभएको छ तर उहाँलाई एउटा ठूलै अपराधीको जस्तो जञ्जिरमा बाँधिएर उपचार गरिरहेको छ ।’

चौधरीलाई नेताहरु भेट्न गएको क्रममा फोटो खिच्न खोज्दा प्रहरीले रोकेका थिए । फोटो खिच्न रोक्दा नेता र प्रहरीको बीचमा भनाभन भएको थियो । राजपा नेपालका नेता समेत रहेका चौधरी फरारकै क्रममा उनी कैलाली–१ बाट प्रतिनिधिसभा चुनाव जितेका छन् । उनलाई आयोगले प्रमाणपत्र पनि दिएको छैन भने शपथ पनि लिएका छैनन् । उनी अदालतमा फागुन १४ गते हाजिर भएका थिए । उनी हाजिर भएपनि पूर्पक्षका लागि थुनामा राखिएको छ । थुनामा राखेपछि उनले विभिन्न माग राखी आमरण अनसन शुरु गरेका थिए ।

प्रकाशित मिति: Mar 13, 2018

प्रतिक्रिया दिनुहोस्