Logo
१२ श्रावण २०८१, शनिबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालबाट हङकङ पराजित, मान्याता हासिल गर्ने सम्भावना कायमै 

काठमाडौँ : आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको छ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा १५४ रनको लक्ष्य पच्छाएको नेपालले ४० दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरयो । यो जितसँगै नेपाललाई एक दिवसीय मान्याता हासिल गर्ने सम्भावना कायमै रहेको छ ।

दुई अंक जोडेको अफगानिस्तान रन रेटका आधारमा समूह ‘बी’ बाट तेस्रो भएर सुपर सिक्स पुग्न सफल भएको छ भने समान दुई अंक जोडेका नेपाल र हङकङ रनरेटका आधारमा पछाडि परेका हुन ।

सोही समुहमा रहेका जिम्बावे र स्कटल्याण्ड्स सुपर सिक्समा यसअघि नै पुगिसकेका छन् । नेपाल चौथो तथा हङकङ पाँचौ भएको छ । नेपालको जितमा रोहितकुमार पौडेलले सर्वाधिक रनको योगदान दिए भने सोमपाल कामीले ३७, अनिलकुमार शाहले २६, ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले १२÷१२ तथा कप्तान पारस खड्काले ११ रन जोडे ।

बलिङतर्फ हङकङका अइजाज खान र एहसान खानले दुई/दुई विकेट लिए । त्सअघि टस जितेर ब्याटिङ गरेको हङकङले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनायो । हङकङका लागि निजाकत खानले ४७, इशान खानले २५, कप्तान बाबर हयातले २०, इशान नवाजले १३ तथा तनवीर अफजलले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, करण केसी र वसन्त रेग्मीले दुई÷दुई तथा सोमपाल कामी र ललितनारायण राजवंशीले एक–एक विकेट लिए । अघिल्ला तीन खेलमा नेपालले पराजय भोगेको थियो । नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रनले, दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटले तथा तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्