Logo
१२ श्रावण २०८१, शनिबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजश्व चुहावट रोक्न अर्थमन्त्रीको कडा निर्देशन

कठमाडौं : राजश्व चुहावट रोक्न अर्थमन्त्री डा. युवराज खतिवडाले आफू मातहतका अधिकारीलाई कडा निर्देशन दिएका छन् ।

राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय अनुगमन समितिको बैठकलाई सम्बोधन गर्दै उनले राजस्व चुहावट नियन्त्रणमा संलग्न राजस्व प्रशासन, स्थानीय प्रशासन र सुरक्षा निकायहरुबीच सूचना आदानप्रदान र अन्तरनिकाय समन्वय लाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

उनले राजस्व चुहावट नियन्त्रणको माध्ययमबाट राजस्व संकलनमा आशातित नतिजा हासिल गर्नुपर्ने, राजस्व चुहावट नियन्त्रण एंव अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए ।

पछिल्ला दिनहरुमा भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएपछि अर्थमन्त्रीले आफ्नो एक्सनलाई कडा रुपमा अघि बढाइरहेका छन् ।
केही दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरुलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड रुपैयाँ राजस्व बढी उठेको थियो ।

मेलापर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालयले औसतमा ८५ करोड रुपैयाँ राजस्व उठाउँदै आएका थिए । नयाँ अर्थमन्त्रीले भन्सार प्रमुखहरुलाई निर्देशन दिएकै दिन भने राजस्व एक अर्ब २० करोडभन्दा बढी असुली भएको थियो । अन्य दिनको तुलनामा सोही दिन भएको असुली कम्तीमा पनि ३५ करोड रुपैयाँ बढी हो । यो तथ्यांकका आधारमा भन्सारमा व्यापारी र कर्मचारीको मिलेमतोमा राज्यको दैनिक ३०–३५ करोड रुपैयाँ राजस्व हिनामिना हुँदै आएको आशंका गरिएको छ ।

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्