Logo
२३ बैशाख २०८१, आईतबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यातना दिएर छोरीको हत्या गरेको आशंकामा बाबु पक्राउ, आमा फरार

जनकपुर : छोरीको ‘हत्या’ गरेको आशंकामा धनुषा प्रहरीले जनकपुरका एक व्यक्तिलाई पक्राउ गरेको छ । आफ्नी १९ वर्षीया छोरीको हत्या गरी भारत लगेर अन्त्येष्टि गरेको आशंकामा प्रहरीले धनुषा सहिदनगर–७ का ४० वर्षीय दिलीपकुमार यादवलाई शनिबार पक्राउ गरेको हो ।

‘छोरीलाई सम्झाउने क्रममा फागुन ८ गते साँझ ठूलो–ठूलो स्वरमा उनीहरूबीच झगडा भयो,’ घटनाको अनुसन्धान गरिरहेका धनुषा प्रहरीका एक अधिकृतले भने, ‘त्यही साँझ नै आमाबुवाको चरम यातनाले स्नेहाको मृत्यु भएको हाम्रो आशंका छ  ।’  आमा भने फरार छिन् । काठमाडौंको नासा कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीया स्नेहाकुमारी यादवलाई उनकै बाबुआमाले चरम यातना दिएर मारेको आशंका प्रहरीले गरेको हो ।

पक्राउ परेपछि स्नेहाका बाबु दिलीपले छोरी बिरामी रहेको र उपचारका लागि भारत लैजाने क्रममा बाटोमै मृत्यु भएपछि उतै दाहसंस्कार गरेको बताएका छन् । प्रहरीले भने स्नेहाको हत्या गरिएको दाबी गर्दै अुनसन्धानलाई त्यतै मोडेको छ । अनुसन्धान टिम यादवको जनकपुर–२ वकिल टोलस्थित डेरामा पुग्दा रगतका छिटा देखिएको प्रहरीले जनाएको छ । प्रहरीले त्यसलाई संकलन गरेर ल्याएको छ ।

‘हामीले घरमा भेटिएको र देखिएका सबै प्रमाण संकलन गरेका छौं,’ अनुसन्धानका खटिएका एक प्रहरीले भने, ‘स्नेहाको मृत्युपछि घरका सबै सबुत–प्रमाण मेटाउने कोसिस भएको देखिन्छ ।’ फागुन ८ गते साँझ पनि ठूलो स्वरमा झगडा भएको सुनिएको थियो । तर अर्को दिनदेखि त्यो घर सुनसान भएपछि स्थानीय बासिन्दा पनि सशंकित भए । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार साँझकै झगडाका क्रममा स्नेहाको मृत्यु भएपछि दिलीप दम्पती प्रमाण नष्ट गर्ने र शवलाई तह लगाउने योजना बुन्न थाले ।

कलेजले स्नेहाको विषयमा गुनासो गरेपछि दिलीप आफैं काठमाडौं पुगेर फागुन २ मा जनकपुर ल्याएका थिए । त्यसपछि स्नेहा र बाबु दिलीपबीच दिनहुँ झगडा भइरहन्थ्यो । ठूलो आवाज आउने गरी बाबुछोरीबीचको झगडाले स्थानीय बासिन्दा पनि आतंकित बनेका थिए ।  भोलिपल्ट फागुन ९ गते साँझ बाबु दिलीप भाडाको गाडी लिएर डेरामा पुगे । अचेतलाई झैं काँधमा स्नेहालाई बोकेर गाडीमा हाले र भारततर्फ लागे ।

छिमेकीहरूले चासो राख्दा ‘स्नेहा बिरामी’ भएकाले उपचारका लागि भारतको दरभंगा लैजान लागेको बताए । धनुषा प्रहरीले भने स्नेहाको मृत्युु जनकपुरमै भइसकेको र बाबु दिलीपले प्रमाण नष्ट गर्न र घटना लुकाउन मृत शरीरलाई भारतमा लगेर जलाइदिएको दाबी गरेको छ ।

छोरीलाई उपचारको बहानामा भारत लगेका दिलीप उतैबाट फरार भए । आमा सरितादेवी पनि जनकपुरको डेरामा ताल्चा लगाएर फरार भइन् । छोरीको शव जलाएको चार दिनपछि दिलीपले भारतबाटै आफ्नो घर सहिदनगर–७ धबौलीमा फोन गरेर छोरीको मृत्यु भएको खबर गरेका थिए । छोरी मृत्यु भए पनि उनको घरमा जुठो बार्नेबाहेक अन्य संस्कार गरिएन ।

सधैं झगडा हुने घर सुनसान रहेको र बाबुआमासमेत सम्पर्कविहीन भएपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । ‘स्थानीयले खबर गरेपछि स्नेहाका बुवा दिलीपलाई खोज्न थाल्यौं,’ धनुषा प्रहरीका डीएसपी प्रवीण धितालले भने, ‘बुवा–आमा दुवै फरार रहेको बुझिएपछि घटना शंकास्पद रहेको देखियो ।’ धितालका अनुसार बिरामी छोरीलाई उपचारका लागि भारत लैजाँदा बाटोमै मृत्यु भएको दिलीपले बताए पनि त्यसपछिका सबै कानुनी प्रक्रिया छलेका छन् । पोस्टमार्टमका लागि अस्पताल लगिएको छैन ।

मृत्यु भएलगत्तै हतार–हतार जलाइएको, बाबुआमा नै फरार भएको जस्ता शंकास्पद स्थितिका आधारमा पक्राउ परेका दिलीपविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । घटनापछि दिलीप सिरहास्थित ससुराली घरमा लुकेर बसेका थिए । उनलाई आइतबार जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि म्याद थप लिएको डीएसपी धितालले बताए ।

स्नेहालाई जलाउन बुवा दिलीपले भाडामा लिएको गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ । स्नेहा अध्ययन गर्ने नासा कलेजसँग पनि बुझिरहेको धनुषा प्रहरी स्रोतले जनाएको छ । दिलीप जनकपुर विद्युत् प्राधिकरणका कर्मचारी हुन् । प्रहरीका अनुसार स्नेहाको हत्या भएको केही दिनपछि दिलीप जनकपुर आएर कार्यालयमा हाजिरसमेत गरेको देखिन्छ । कार्यालयमा गयल भएको मितिको हाजिरसमेत गरेका दिलीपले जनकपुर आएको मौकामा छोरीको हत्यासम्बन्धी सबै प्रमाण नष्ट गर्न खोजेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्