Logo
११ श्रावण २०८१, शुक्रबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीलाई दुई तिहाई सांसदको समर्थन, पक्षमा २०८, बिपक्षमा ६०

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई सांसदको विश्वासको मत पाएका छन् । ओलीले २०८ मत पाएका छन् भने विपक्षमा ६० मत खसेको छ । कांग्रेसले मात्र ओलीलाई मत दिएनन् । नयाँ शक्ति पार्टीका मात्र सांसद डा. बाबुराम भट्टराई भने आइतबारको संसद बैठकमा उपस्थित नै थिएनन् ।

ओलीको पक्षमा एमालेसहित माओवादी केन्द्र, राजपा नेपाल, संघीय समाजवादी फोरमका सांसदका साथै तीन स्वतन्त्र सांसदले मत हालेका थिए । कांग्रेस र नेमकिपाले विपक्षमा मतदान गर्दा नयाँ शक्तिका स्वतन्त्र सांसद बाबुराम भट्टराई भने अनुपस्थित थिए ।

यसअघि, एमाले नेता माधवकुमार नेपालले संसद् बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । त्यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका दलले समर्थन गरेका थिए । प्रधानमन्त्री ओलीले प्रतिपक्षलाई समेत विश्वासमा लिएर अगाडि बढ्ने प्रतिबद्धता संसद् बैठकमा दोहोर्‍याएका थिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये बैठकमा जम्मा २६८ सांसद उपस्थित हुनुहुन्थ्यो । नेपाली काँग्रेसका सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नुभएको थियो भने नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्रीको पक्षमा मतदान गरेको थिएन । नयाँ शक्ति पार्टी नेपालका सांसद डा बाबुराम भट्टराई नेपाल बाहिर हुनुहुन्छ ।

उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा उहाँलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्रका सांसदले समर्थन गरेका हुन । मत विभाजनअघि पाँच मिनेट जनाउ घण्टी बजाइएको थियो ।

त्यसपछि सभामुखको आसनको दाँया कक्षमा राखिएको वर्णानुक्रमानुसारको नामावलीमा हस्ताक्षर गरी सांसदहरुले प्रधानमन्त्रीको पक्षमा मत व्यक्त गर्नुभएको थियो भने सभामुखको आसनको बाँया कक्षमा राखिएको वर्णानुक्रमानुसारको नामावलीमा हस्ताक्षर गरी सांसदले प्रधानमन्त्रीको विपक्षमा हस्ताक्षर गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन ३ गते एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । संविधानअनुसार प्रधानमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान छ ।संविधानअनुसार प्रतिनिधिसभामा १६५ प्रत्यक्ष निर्वाचित र ११० समानुपातिक गरी कुल २७५ सांसद छन् ।

गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले १२१, नेपाली काँग्रेसले ६३, माओवादी केन्द्रले ५३, राजपा नेपालले १७, संघीय समाजवादी फोरमले १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक÷एक र स्वतन्त्रले एक स्थानमा विजयी हासिल गरेका थिए ।

प्रकाशित मिति: Mar 11, 2018

प्रतिक्रिया दिनुहोस्