Logo
९ जेष्ठ २०८१, बुधबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीले मन्तव्यको साटो विद्यार्थीलाई एक घण्टा पढाए

दोलखा :  प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित शुक्रबार जिल्लाकै जेठो गौरीशंकर बहुमुखी क्याम्पस पुगे  । विद्यालय प्रशासनले तामझामका साथ भाषणको व्यवस्था मिलायो । मन्त्री स्थापितले भने मन्तव्यको साटो विद्यार्थीलाई एक घण्टा पढाएपछि आयोजक मात्र होइनन्, विद्यार्थी पनि छक्क परे ।

उनले क्याम्पसका विद्यार्थीलाई सफल र उत्साहित भएर कर्म गर्नेबारे पढाएका हुन् । मार्कर र डस्टर प्रयोग गरी कार्यक्रममा अध्यापन गराउँदा उपस्थितपाहुना, प्राध्यापक र विद्यार्थी छक्क परे । उनले भाषणको साटो विषयगत अध्यापन गराएर विद्यार्थीलाई लाभ गराउने बताएपछि कार्यक्रम शिक्षण विधिमा परिणत भएको हो ।

विकासको सम्भावना अध्ययन गर्न मन्त्री स्थापितलगायतको टोली बिहीबारदेखि जिल्लाको जिरी, कालिञ्चोक र दोलखा बजार क्षेत्रमा आएको थियो । शुक्रबार बिहान क्याम्पसमा आयोजित कार्यक्रममा भने जिल्लाकै ठूलो क्याम्पसलाई विश्वविद्यालय कसरी बनाउन सकिन्छ भनेर अन्तक्र्रिया गरिएको हो ।

योजनाबारे सोच बनाउने, त्यसलाई कार्यान्वयन गर्ने र लगानी खोज्ने तरिकालाई सहज ढंगले कसरी लागू गर्ने भन्ने विषयमा मन्त्रीले पढाएपछि विद्यार्थीले जिज्ञासा राखेका थिए । पछिल्लो समय क्याम्पसले आयोजनागर्ने कार्यक्रम विद्यार्थीका लागि उपयोगी हुने गरी सञ्चालन गर्न थालिएको क्याम्पस प्रमुख शान्त केसीले बताए ।

मन्त्री स्थापितले भ्रमणका क्रममा जिरीमा प्राकृतिक ताल, बौद्ध ध्यान केन्द्र र एयरपोर्टबारे निर्माणबारे छलफल गरे । कालिञ्चोकलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउनेबारे छलफल गरेका उनले दोलखामा ढुंगा छापिएको बाटो बनाउने योजनाबारे भीमेश्वर नगरपालिकासँग अन्तक्र्रिया पनि गरेका थिए भन्दै कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: Mar 10, 2018

प्रतिक्रिया दिनुहोस्