Logo
५ जेष्ठ २०८१, शनिबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यमा जिटलता देखिएपछि सांसद रेशम चौधरी काठमाडौं रिफर

धनगढी : अदालत समक्ष आत्मसमर्पण गरेर पनि पुर्पक्षका लागि थुनामा रहेका कैलाली क्षेत्र नं १ का सांसद रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं रिफर गरेको छ । कारागारबाट बेहोस अवस्थामा सेती अञ्चल अस्पताल पुर्‍याइएका चौधरी विस्तारै सामान्य हुँदै गएको उक्त अस्पतालका प्रमुख डा सजन केसीले बताए । ‘आवश्यक ल्याव टेस्‍ट गर्ने सुविधा धनगढीमा नभएकाले रिफर गरिएको हो,’ डा. केसीले भने ।

स्वास्थ्यमा समस्या आएपछि शुक्रबार अस्पताल लगिए पनि चौधरीले उपचार गर्न नमानेपछि कारागार फिर्ता पठाइएको थियो । शनिबार दिउँसो अचानक बेहोस भएका चौधरीलाई सेती अञ्चल अस्पताल भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि काठमाडौं पठाउन लागिएको हो ।

आफू न्याय पाउनुपर्ने भन्दै पछिल्लो एक हप्तादेखि उनी आमरण अनशनमा छन् । हजारौं जनताको मतले आफू निर्वाचित भएकाले आफू निर्दोश भएको प्रमाण नै त्यही भएको उनको तर्क छ ।   ‘पिसाबमा रगत आउने र रक्तचाप बढेपछि काठमाडौं रिफर गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘पाँच बजेको जहाजबाट केन्द्रीय कारागार काठमाडौं पठाउने तयारी छ ।’

चौधरी छुटाउन गृहमन्त्री राजपा नेता भेट
यता, हिरासतभित्रै अनसनरत चौधरीलाई छुटाउन माग राख्दै राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरुले गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन् । चौधरी २०७२ भदौ ७ मा कैलालीमा भएको थरुहट आन्दोलनका क्रममा एसएसपी सहित ७ सुरक्षाकर्मीको हत्या भएको घटनाका मुख्य आरोपी हुन् । उनी भूमिगत रुपमै चुनाव लडेर कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचित भएका थिए ।

लामो समय भूमिगत रहेका उनले १४ फागुनमा अदालतसमक्ष आत्मसर्मपण गरेका थिए । २० फागनु यता कारागारभित्रै अनशन बसेका चौधरीलाई छुटाएर अविलम्ब उपचार प्रक्रिया थाल्न राजपा नेताहरुले गृहमन्त्रीसमक्ष माग राखेका थिए । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले चौधरीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक भएको भन्दै काठमाडौं ल्याएर उनको उपचार थाल्न र मुद्दा फिर्ता लिएर शपथ ग्रहण गराउने वातावरण निर्माण गर्न माग राखेको बताए ।

महतोले अनशनरत चौधरीको पिसाबमा रगत देखिएको बताए । उनले भने, ‘हाम्रो मागमा गृहमन्त्री सकरात्मक हुनुभएको छ । उहाँले प्रधानमन्त्रीसँग कुरा गरेर समाधानको बाटो खोज्ने बताउनुभएको छ ।’ नेता महतोले गृहमन्त्री आफ्ना मागहरुमा सकरात्मक रहेको बताउँदै मानवीय हिसाबले पनि चौधरीको रिहाईको पहल गर्नुपर्ने र उनको सपथको बाटो खोल्नुपर्ने पक्षमा आफुहरु रहेको बताए ।

प्रकाशित मिति: Mar 10, 2018

प्रतिक्रिया दिनुहोस्