Logo
१२ श्रावण २०८१, शनिबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोरोको सालिक हेर्ने आमाको सपना अधूरै

कञ्चनपुर : गतवर्ष आजकै दिन, आफ्नै भूमिमा कल्भर्ट निर्माणको विषयलाई लिएर कञ्चनपुर पुनर्वास नगरपालिका–४ का गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गर्नुभएको थियो । शहीद गौतमको सम्झनामा आज उहाँकै घर छेउमै रहेको नमूना प्राविमा स्मृतिसभामा सहभागी शहीद गौतमकी आमा हरिदेवी गौतम निराश मुद्रामा देखिनुभयो ।

कार्यक्रममा शहीदको सम्मान र भूमिको रक्षार्थ गौतमले बलिदान दिएको चर्चा भइरहँदा शहीद गौतमकी आमाले भने वर्षदिन वितिसक्दा पनि सरकार र नेताबाट पाएको आश्वासन पूरा नभएकोप्रति दुखः व्यक्त गर्नुभयो । ‘घटनाका बेला आनन्द बजारमा छोरो(गोविन्द)को सालिक बनाउनेदेखि बुहारीलाई जागिर दिनेसम्मका आश्वान धेरै पाएँ,’ हरिदेवीले भन्नुभयो–“न छोरोको सालिक बन्यो, न त बुहारीले जागिर नै पाइन ।”

आनन्द बजारको मुख्य चोकमा सालिक बनाउन पुनर्वास नगरपालिकाले जग हालेको भए पनि सालिक बनाउने काम शुरु भएको छैन । ‘सालिक बनाउने ठाउँमा धुलोले पुरिँदैछ,’ उहाँले भन्नुभयो–“ढलेको ठाउँमा छोराको सालिक बनेको भए त्यै हेरेर बस्थेँ ।” घटनापछि सहानुभूति व्यक्त गर्न आउने सबै नेताहरुले आश्वासन बाँडेको उहाँको भनाईछ ।

‘सालिक हेरेर छोरो सम्झिने दिन कहिले आउँला ?’ उहाँले भन्नुभयो–“तीन नातिनीहरुलाई यहाँका स्थानीय स्कुलहरुले भने निःशुल्क पढाएका छन ।” बुहारी लक्ष्मी गौतम (शहीद पत्नी) लाई तत्कालीन अवस्थामा नगरपालिकामा जागिर दिने भनिए पनि त्यो पनि हालसम्म पूरा हुननसकेको हरिदेवीले बताउनुभयो । ‘नगरपालिकामा पनि अहिले ठाउँ छैन भन्ने गर्छन्,’ उहाँले भन्नुभयो– “छोरो शहीद भएकाले मिलेको सहयोगले औषधि खानेदेखि परिवारको खर्च चलाएका छौं ।”

त्यसैगरी सोही घटनामा सख्त घाइते भएर अपांग जीवन विताइरहेका बेलौरी नगरपालिका–४ शान्तिपुरका टीकाराम चापागाईंले पनि आफ्नो भूमिका लागि लड्दा सरकारी तवरबाट खासै सहयोग नभएको बताउनुभयो । ‘घाइते भएका बेला सरकारले १९ दिन काठमाडौँमा औषधि उपचार बाहेक केही गरेन,’ उहाँले भन्नुभयो–“श्रीमती जागिर र छोरीहरुलाई पढाइखर्च मागेको भए पनि वास्ता गरिएन ।”

अशक्त अवस्थामा रहेका चापागाईंले घटनापछि विभिन्न संस्था र व्यक्तिबाट करिब रु आठ लाख सहयोग मिलेको बताउनुभयो । घटनापछि बन्द रहेको आनन्द बजार बसही नाका अझै सुचारु हुनसकेको छैन । घटनास्थल छेउ–छाउबाट भारततर्फ आवतजावत गर्दै सामान्य घरायसी समान किनमेल गर्न थालिए पनि नाका खोल्ने विषयमा पहल भएको देखिएको छैन ।

आनन्द बजार र सीमावर्ती भारतीय बसही बजारका व्यापारी नाका सुचारु गर्न सकरात्मक देखिका छन् । तर सुचारु गर्न पहल गरिदिने कोही नभएको आनन्द बजारका व्यापारी टीकादेवी मगर बताउनुहुन्छ । “नेता आउदा नाका खुल्छ भन्छन,” टीकादेवीले भन्नुभयो–“नाका नखुल्दा दुबै तर्फ व्यापार घाटा भएको छ ।”

प्रकाशित मिति: Mar 10, 2018

प्रतिक्रिया दिनुहोस्