Logo
१६ बैशाख २०८१, आईतबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय दूतावासबाट २०० विद्यार्थीलाई ‘स्वर्ण जयन्ती छात्रवृत्ति’

काठमाडौँ : भारतीय दूतावासले दुई सय नेपाली विद्यार्थीलाई ‘स्वर्ण जयन्ती छात्रवृत्ति’ प्रदान गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी र नेपाल सरकार विदेश सचिव शंकरदास बैरागीले उक्त छात्रवृत्ति प्रदान गरेका हुन् । भारत सरकारले नेपाल र भारतका विभिन्न विश्वविद्यालयहरुमा चिकित्सा, विज्ञान, कृषि, कला, पशु विज्ञान, औषधी निर्माणविज्ञान, कम्प्युटर विज्ञान तथा नर्सिङ विषयमा अध्ययन गर्नसमेत करिब ३ हजारलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

सन् १९५१ मा सुरु भएको भारत–नेपाल आर्थिक सहकार्यको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा भारत सरकारले सन् २००२ देखि नेपाली विद्यार्थीलाई ‘स्वर्ण जयन्ती छात्रवृत्ति’ प्रदान गर्दै आएको छ । हालसम्म २ हजार १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी छात्रवृत्तिबाट लाभान्वित भएको दूतावासले जनाएको छ ।

सन् २०१७–२०१८ को कार्यक्रमअन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति पाउने विद्यार्थी नेपालका विभिन्न विश्वविद्यालय तथा क्याम्पसमा एमबीबीएस, बीई, बीएसस्सी, बीए, बीएड, बीबीएलगायत विषयमा अध्ययनरत छन् । छात्रवृत्ति प्राप्त विद्यार्थीमध्ये एमबीबीएस र बीई अध्ययनरतले अध्ययन अवधिभरि मासिक चार हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी अन्य संकायका विद्यार्थीले अध्ययन अवधिभरि मासिक तीन हजार रुपैयाँ पाउँदछन् ।

कार्यक्रममा राजदूत पुरीले दुई देशबीचको सम्बन्ध प्रगाढ रहेको बताए । उनले विद्यार्थीहरूलाई व्यक्तिगत र पेसागत उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गरे । सचिव बैरागीले भारत सरकारले नेपाली विद्यार्थीलाई निरन्तर छात्रवृत्ति प्रदान गरेर मानव स्रोत विकासमा योगदान पुर्‍याएको बताए ।

प्रकाशित मिति: Mar 10, 2018

प्रतिक्रिया दिनुहोस्