Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक व्यवस्थाका कारण संसदमा एक साता चुनावै चुनाव

काठमाडौं : संवैधानिक व्यवस्थाका कारण संसद बैठक बसेको एक महिनाभित्र गर्नुपर्ने विभिन्न पदको निर्वाचनका कारण अवको दुई साता संसद चुनावमय हुने भएको छ । चैत ५ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाका कारण संसद्मा नियमित रूपमा चुनाव हुने भएको छ । यस अवधिमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख, उपसभामुख, अध्यक्ष र उपाध्यक्षको लागि निर्वाचन हुदै छ ।

संसद् सचिवालयले चैत ४ सम्म विभिन्न पदको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । शनिबार सभामुखका लागि मतदान हुनेछ । प्रतिनिधिसभा प्रारम्भ भएको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । वाम गठबन्धनबाट माओवादी नेता कृष्ण बहादुर महरा सभामुख बन्दै छन् । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संविधानको धारा ९१ मा व्यवस्था छ । उक्त व्यवस्थाअनुसार नै फरक लिंग र दल मिलाउन उपसभामुखको निर्वाचन केही दिनपछि तोकिएको सचिवालयले बताएको छ ।

प्रधानमन्त्री केपी ओलीले फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विगतमा संसद्बाट मात्र प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था रहे पनि नयाँ संविधानले राष्ट्रपतिबाट नियुक्तिको व्यवस्था गरेको छ ।

प्रतिनिधिसभामा वाम गठबन्धनको झन्डै दुई तिहाइ मत रहेको र मधेसकेन्द्रित दलले पनि सघाउने तयारी भइरहेकाले प्रधानमन्त्री ओलीले दुई तिहाइ बहुमत पाउने अनुमान गरिएको छ । फागुन २९ मा राष्ट्रपतिको निर्वाचन पनि हुंदै छ । यसका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नै पुन: राष्ट्रपति बन्दैछिन् ।

प्रकाशित मिति: Mar 9, 2018

प्रतिक्रिया दिनुहोस्