Logo
५ जेष्ठ २०८१, शनिबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहार सरकारले प्रतिवन्ध लगाएपछि सुनसरीमा मदिरा पर्यटन फस्टाउँदै

भाण्टावारी : सुनसरीको सीमापारीको भारत बिहार सरकारले मदिरामा प्रतिवन्ध लगाए पछि सुनसरीमा मदिरा पर्यटकहरुको संख्या दिनहुँ बढ्दै गएको छ । भारतको भिमनगर हुँदै सुनसरीको भाण्टावारी सिमानाकाबाट नेपाल भित्रिने अधिकांश भारतीय नागरिकहरु अन्य काम विशेष भन्दा मदिराको रमाइलो गर्न आउने गरेको पाईएको छ । यसरी आउनेहरु दुई तीन दिनकालागि योजना बनाएर आउने गरेका छन भने बसाईको क्रममा नेपालमा चल्तीमा रहेका विभिन्न ब्राण्डका मदिराहरु सेवन गरी आनन्द लिनुका साथै मुख्य मुख्य शहरहरुको भ्रमणसमेत गर्ने गरेका छन ।

निजी वा भाडाका सवारी लिएर आउने यस्ता भारतीय पर्यटकहरुले सेतुबन्ध भन्सार कार्यालय कोशी व्यारेजबाट दुई दिनको भन्सार सुविधा लिएर धनकुटा, भेडेटार, धरान, इटहरी, इनरुवा, गाईघाट, चतरा, बराहक्षेत्र र प्रकाशपुरसम्म जाने गर्दछन । बुधवार राधोपुरबाट भाण्टावारी आएका सुर्यनारायण जैसवालले साथीहरु बिच मिलेर यहाँको प्राकृतिक सौन्दर्यको आनन्द लिनुका साथै खानपानमा रमाईलो गर्ने योजनाका साथ दुई दिनका लागि आएको बताए ।

विशेष गरी भाण्टावारी सिमानाकाबाट भारतको बिहार राज्यको सुपौल, मधेपुरा, राधोपुर, सहरसालगायतका जिल्लाहरुबाट परिवार, साथी–साथीहरुको समुहमा व्यापारी, सरकारी कर्मचारी, सामाजिक अगुवाहरु, राजनीतिक दलका नेता, युवा कलेजमा अध्ययनरत विद्यार्थीहरु सुनसरीको बाटो भएर अन्यत्र जाने वा सुनसरीका विभिन्न स्थानहरुमा घुम्दै मदिराको आन्नद लिने गरेका छन ।

बुधवार कोशी व्यारेजमा भेटिएका मधेपुराका विद्यार्थीहरु चतरामा रहेको कोशीको पुलको अवलोकन गरी बराहक्षेत्र मन्दिर घुम्दै रात सुनसरीमा बिताउने योजना रहेको अमलेश सिंहले बताए । उनीहरुले नेपालको बसाई तिर्थाटन वा घुम्ने बताए पनि मदिरा सेवन गरी एक दुई रात यहाँ बसेर फर्कने योजना बनाएर आउने गरेको पाईएको छ । सुनसरी लगायतका विभिन्न स्थानमा बसाईका क्रममा भारतीय पर्यटकहरुले धित मरुञ्जेल मदिराको आनन्द लिदै फ्रेस भएपछि पुनः भारत फर्कने गरेका छन ।

भारतीय सीमा क्षेत्र पार गर्दा उनीहरुले मदिराको नशाबाट मुक्त भएर जाने गरेका छन । कतिपय भारतीय नागरिकहरु समुहमा आउँदा साथीलाई मदिराको नशाले नछाडेको अवश्थामा भाण्टावारीमा बसेर फ्रेस भएपछि मात्र फर्किएर जाने गरेका छन । सीमा क्षेत्रका व्यापारीहरुका अनुसार मोटरसाईकलमा वा सार्वजनिक सवारी साधनहरुमा कोशी व्यारेजको सुनसरी सप्तरी खण्डमा भने बिहानै आएर साँझपख फर्कने वा साँझपख आएर रातभरी यतै बसेर पुनः भोली बिहान भारत जाने भारतीय नागरिकहरुको संख्या भने अझै धेरै हुने गरेको बताउँछन ।

शहरसाबाट भेडेटार जानकालागि आएका भारतीय सरकारी कर्मचारीहरुको समुहका राममोहन सिहाँनियाले मंगलवार परिवारका साथमा प्राकृतिक सौन्दर्यको आन्नद लिने र रमाइलो गर्ने बताउँदै बसाईको क्रममा यहाँका खानालगायतका अन्य परिकारहरुको स्वादसमेत चाख्ने गरी आएको बताए ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्