Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढल्केवर-जनकपुर सडकखण्डमा निकै नै दुर्घटना बढेपछि ट्रिपरलाई ‘टाईम कार्ड’

जनकपुरधाम : ढल्केवर-जनकपुर सडकखण्डमा निकै नै दुर्घटना बढेपछि यसको विरुद्धमा ट्राफिक प्रहरी खरो उत्रिएको छ । अव जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले बेलगाम ट्रिपरका चालकलाई लगाम स्वरुप टाईम कार्ड लागु गरेको छ ।
मंगलबारबाट जनकपुर ढल्केवर सडकखण्डमा गुड्ने ट्रिपरहरुमाथि प्रहरीले कडा नजर लगाएको छ । उसले ट्रिपरको गति नियन्त्रण गर्न टाईम कार्डबाट तय गर्नु पर्ने दुरी तोकेको छ ।

ढल्केवर–जनकपुर सडक खण्डस्थित मुजेलियामा ट्राफिक प्रहरीले टाईम कार्ड लागुको लागि डेस्क स्थापना गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी चक्रबहादुर सिंहले ट्रिपरचालकलाई टाईम कार्ड दिएर यो नियम कार्यान्वयनमा ल्याएका हुन् । ट्राफिक प्रहरीले ट्रिपरको गति नियन्त्रण गर्न लगाएको नयाँ निमय अनुसार अव खाली ट्रिपर जनकपुरबाट ढल्केवर जान अथवा आउन एकतर्फी रुपमा एक घण्टा लागाउनु पर्ने छ ।

त्यस्तै निर्माण सामग्री लोड ट्रिपर एकतर्फी आउन अथवा जान डेढ घण्टा समय लाग्नु पर्ने धनुषाका ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले बताउनुभयो । ‘यदि तोकिएको समयभन्दा चाँडै ट्रिपर जनकपुर अथवा ढल्केवर पुगेमा तिव्रगतिमा गाडी चलाएको कसुरमा हदैसम्मको कार्वाही गर्छौं,’ ट्राफिक प्रहरी प्रमुख चौधरीले भन्नुभयो ‘ यदि विच बाटोमै अत्यधिक गतिमा ट्रिपर चलाउँछ भने हामीलाई खबर गर्नुस्, हामी कार्वाही गर्छौ ।’

यो नियम विहान ६ बजेदेखि बेलुका ९ बजेसम्म लागु हुने समेत उहाँले जानकारी दिनुभयो । ट्रिपर चालकहरुलाई मालिकले समयानुसारको मासिक तलब नदिने र टिपपिच्छे प्रति टिप ५ सय भत्ता दिने गर्छन् । तलब कम हुनु र घरपरिवारलाई पाल्नु पर्ने बाध्यताका कारण धेरैभन्दा धेरै टिप लगाएर अधिक भत्ता कमाउने गर्दछन् । जसका कारण द्रुत गतिमा ती ट्रिपरचालकहरुले हुइकाउने ट्रिपरले धेरैको ज्यान लिँदै आइरहेको छ ।

अत्यधिक गतिमा ट्रिपर कुदाउँदा सडक दुर्घटना भएर मानवीय क्षति बढेपछि सर्वसाधारण चिन्तित बनेका थिए । बाटोमा हिड्ने बटुवा, साईकल चालक, मोटरसाईकल चालक लगायत साना सवारीसाधनलाई गन्तव्यमा पुग्न समस्या हुने गरेको थियो । टाईम कार्डको लागु संगै सडक यात्रा सहज हुने सर्वसाधारणले विश्वास लिएका छन् ।

पछिललो समय  फागुन २१ गते ट्रिपरको ठक्करबाट धनुषामा एक शिक्षकको ज्यान गएको छ ।  द्रुतगतिमा रहेको ज १ क २९३ नम्बरको ट्रिपरको ठक्करले बटेश्वर गाउँपालिका–२ भूचक्रपुरको राष्ट्रिय प्राथमिक विद्यालय रमौलीटोलका शिक्षक ५० वर्षका हरिनारायण यादवको घटनास्थलमै मृत्यु भयो । ढल्केवरदेखि जनकपुरसम्म अत्यधिक गतिमा हुइकाईने बेलगामका ट्रिपर चालकहरुको लापरवाहीले धनुषामा सडक दुर्घटना बढाएको जनगुनासो बढेको छ ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्