Logo
१२ श्रावण २०८१, शनिबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१०८औँ अन्तर्राष्ट्रिय महिला दिवस : नेपालको उच्च तहमा महिलाको शासन

काठमाडौं : आज अन्तर्राष्ट्रिय महिला दिवस । १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा संसारभरिका महिलाहरुले आजको दिनलाई आफ्नो अधिकार, खुशी र सफलताको मापन एवं उत्प्रेरणा गर्ने दिनका रुपमा सम्झने गर्छन् । महिलाको हकअधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिएको सन्देशमा उल्लेख छ ।

पछिल्लो समय एकै समयमा नेपालमा तीन प्रमुख पदहरू राष्ट्रपति, सभामुख र प्रधानान्याधीशमा महिला नेतृत्व कायम थियो । राष्ट्रपति भण्डारी, सभामुख ओन्सरी घर्ती मगर र प्रधानन्यायाधीशमा सुशीला कार्कीको नेतृत्वले समग्र नेपाली महिलाको शिर उचो बनाएको थियो । अहिले देशका ७ प्रदेशमध्ये ३ नम्बर प्रदेशको राष्ट्रपतिको मान्यता रहेको प्रदेश प्रमुखमा पनि अनुराधा कोइराला छिन् । नेपालको संविधानले नै संसद्देखि राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य बनाएको छ ।

नेपालमा भर्खरै सम्पन्न स्थानीय, प्रदेश र केन्द्रको चुनावबाट १४ हजार ६ सय ५२ जना महिला प्रतिनिधि चुनिएर आएका छन् । स्थानीय तहमा मात्रै १४ हजार ३ सय ५२, प्रदेशमा १ सय ८९ र प्रतिनिधिसभामा ९० र राष्ट्रिय सभामा २२ जना महिलाको प्रतिनिधित्व भइसकेको छ ।

१ वर्षअघि २०७३ कात्तिक २३ मा अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा अमेरिकी पहिलो महिला राष्ट्रपति बन्नबाट हिलारी क्लिण्टन वञ्चित भइन् । अमेरिका जस्तो देशमा महिला राष्ट्रपति चुनिन नसकिरहेको बेला नेपालमा भने पहिलोपटक विद्यादेवी भण्डारी महिला राष्ट्रपतिका रूपमा चुनिन सफल बनिन् । देशकै सर्वोच्च पद राष्ट्रपतिमा महिला चुनिएपछि यो संसारभरका महिलाका लागि एउटा उदाहरणीय काम बनेको थियो । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेकी भण्डारी दोस्रो कार्यकालमा समेत राष्ट्रपति बन्ने पक्का भएको छ । अन्तरराष्ट्रिय नारी दिवसको अघिल्लो दिन बुधवार मात्रै उनले दोस्रोपटक राष्ट्रपति बन्न उम्मेदवारी दर्ता गराएकी छिन् । उनीसँगै राष्ट्रपतिमा उम्मेदवार दिने अर्को व्यक्ति पनि महिला नै छिन् । नेकपा एमालेबाट उम्मेदवार बनेकी भण्डारीसँग नेपाली काङ्ग्रेसकी नेतृ कुमारी लक्ष्मी राईले प्रतिस्पर्धा गर्दै छिन् । यसले नेपालको राजनीतिमा महिलाको वर्चस्व बढ्नुका साथै नेतृत्व गर्न महिला पनि सक्षम रहेको देखाउँछ ।

सय वर्षअघि (१९७४ सालमा) राणा महिलाको नेतृत्वमा दिव्या कोइराला सचिव रहेको महिला जागरण नामक संस्था खुलेको इतिहास पाइन्छ । २००४ सालमा मङ्गलादेवीको नेतृत्वमा सहाना प्रधान, साधना अधिकारी रहेको नेपाल महिला सङ्घ गठन भएको थियो । उनीहरू २००७ सालको प्रजातन्त्र ल्याउने आन्दोलनमा सक्रिय भएर लागेका थिए । योगमाया न्यौपानेले राणा शासनकै बेला विभिन्न माग राखी महिला हक र अधिकारको सवाल उठाएकी थिइन् । २०१५ सालमा भएको चुनावमा नेपाली काङ्ग्रेसले द्वारिकादेवी ठकुरानीलाई उठायो र बीपी कोइराला नेतृत्व सरकारमा उनलाई मन्त्री पनि बनाइयो । पञ्चायत कालमा प्रजातन्त्र प्राप्तिका लागि जेल पर्ने तथा भूमिगत हुनेमा शैलजा आचार्य, नोना कोइराला, रानु अधिकारीलगायत महिला पनि थिए ।

नेपाली राजनीतिको उच्च तहमा पुगेका महिलाको सङ्क्षिप्त परिचय :

विद्यादेवी भण्डारी
२०१८ असार ५ गते भोजपुरमा जन्मिएकी विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते गणतन्त्र नेपालको दोस्रो र नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । माधवकुमार नेपाल प्रधानमन्त्री बन्दा रक्षामन्त्रीसमेत बनेकी राष्ट्रपति भण्डारी फागुन २९ मा हुने राष्ट्रपति निर्वाचनबाट भण्डारी पुनः राष्ट्रपतिमा दोहोरिने पक्का छ ।

ओन्सरी घर्ती मगर
रोल्पाको बैङ्कोटमा २०३४ कात्तिक २८ गते जन्मिएकी ओन्सरी घर्ती मगर नेपालको पहिलो महिला सभामुख हुन् । २०६८ सालमा छोटो कार्यकालका लागि युवा तथा खेलकुदमन्त्री समेत बन्न सफल मगर लामो समय माओवादी ‘जनयुद्ध’मा सक्रिय थिइन् । २०७२ असोज २९ गते संविधानसभाबाट रूपान्तरण भएको व्यवस्थापिका संसद्को पहिलो महिला सभामुख बन्न उनी सफल भएकी थिइन् ।

सुशीला कार्की
२००९ जेठ २५ मा विराटनगरमा जन्मिएकी सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन् । कार्की २०७३ वैशाख १ देखि २०७४ जेठ २३ सम्म नेपालको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन् । न्याय क्षेत्रमा हुने भ्रष्टाचार अन्त्यका लागि शून्य सहिष्णुता लिने न्यायाधीशका रूपमा उनलाई लिइन्छ । उनको कार्यकालमा लोकमानसिंह कार्की, सुडान घोटाला, प्रहरी महानिरीक्षक प्रकरण जस्ता मुद्दा चर्चित थिए । प्रहरी महानिरीक्षक प्रकरणका कारण उनलाई महाअभियोगसमेत लगाइएको थियो । पछि उक्त अभियोग फिर्ता भएको थियो ।

अनुराधा कोइराला
२००६ वैशाख ६ मा ओखलढुङ्गामा जन्मिएकी अनुराधा कोइराला हाल प्रदेश नम्बर ३ को प्रदेश प्रमुख छिन् । शेरबहादुर देउवा सरकारले माघ ३ गते उनलाई प्रदेश ३ को प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । बेचिएका चेलिबेटीको उद्धार र रोकथामका क्षेत्रमा काम गर्दै आएको माइती नेपाल संस्थाकी संस्थापक अध्यक्ष कोइराला नेपालको पहिलो र एक मात्र महिला प्रदेश प्रमुख हुन् । क्यालिफोर्नियाको लसएञ्जल्समा ‘सीएनएन हिरो’ उपाधि जितेकी उनी भारतको प्रसिद्ध पद्मश्री पदकबाट सम्मानित भएकी छिन् । उनले मदर टेरेसा पुरस्कार पनि पाएकी छिन् ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्