Logo
६ जेष्ठ २०८१, आईतबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सी–आस्बा प्रणालीको कमाल : विक्री बन्द भएको ३७ घण्टामै आईपीओ बाँडफाँट

काठमाडौं : फागुन ११ देखि अनिवार्य रूपमा लागू गरिएको सी–आस्बा प्रणालीको प्रभाव सकारात्मक देखिएको छ । यो प्रणाली लागू भएसँगै पहिलोपटक आरम्भ माइक्रो फाइनान्सको आईपीओ बुधवार बाँडफाँट भएको छ । सी–आस्बा प्रणालीबाट यस कम्पनीले विक्री बन्द भएको ३७ घण्टाभित्र आईपीओ बाँडफाँट गरेको हो । गोलप्रथाद्वारा गरिएको बाँडफाँटमा २७ हजार ४८ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । कम्पनीले फागुन १५ देखि २१ गतेसम्म २ लाख ९४ हजार कित्ता आईपीओ विक्री खुला गरेको थियो ।

कम्पनीले बुधवार सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा एक कार्यक्रम आयोजना गरी शेयर बाँडफाँट गरेको थियो । आईपीओमा १ लाख ८६ हजार ३८ जना आवेदकले १ करोड १८ लाख ७८ हजार ७ सय ५० कित्ताका लागि आवेदन दिएका थिए । त्यसमध्ये रीतपूर्वक आवेदन दिने १ लाख ८५ हजार ६ सय ५३ आवेदकलाई आईपीओ बाँडफाँट गरिएको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जानकारी दिएको छ । एकभन्दा बढी डिम्याट खाता प्रयोग गरी आवेदन गरिएका ३ सय ८५ जनाको आवेदन रद्द भएका छन् ।

कम्पनीले कुल कित्तामध्ये ८ हजार ८ सय २० कित्ता कर्मचारी र १४ हजार ७ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी कित्ता सर्वसाधारणका लागि विक्री गरेको हो । आईपीओमा न्यूनतम ५० र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । रू. ३ करोड ६ लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओपछि चुक्तापूँजी रू. ६ करोड पुगेको छ ।

नेपालको पूँजीबजारमा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै सम्पूर्ण पूँजीबजारलाई पूर्ण स्वचालित बनाउने गुरुयोजनालाई साकार पार्ने उद्देश्यले सीडीएस एक क्लियरिङ लिमिटेडले सी–आस्बा प्रणालीको विकास गरेको हो । यो प्रणालीमा हाल ६२ ओटा बैङ्क तथा वित्तीय संस्था आबद्ध भएका छन् । सीडीएसका अनुसार यी संस्थाबाट सीआरएन नम्बर लिने लगानीकर्ताको सङ्ख्या ३ लाख ४६ हजार २ सय ५० पुगेको छ । यो प्रणाली अनिवार्य गरिएसँगै दैनिक ५५ सय नयाँ हितग्राही खाता खोलिएको सीडीएसको भनाइ छ । हालसम्म ११ लाख २४ हजार ५ सय ७१ हितग्राही खाता खोलिएकोमा ५५ हजार ३ हजार ४५ ओटा हितग्राही खाता फागुन ११ पछि खोलिएको सीडीएसले बताएको छ ।

सी–आस्बा प्रणालीको पूर्ण कार्यान्वयनसँगै सार्वजनिक निष्कासनमा खरीद आवेदन गर्न लगानीकर्ताले आफ्नो बैङ्क खाता भएको संस्थाबाट सीआरएन नम्बर लिनुपर्ने हुन्छ । यो नम्बर प्राप्त गरिसकेपछि लगानीकर्ताहरूले कुनै पनि कम्पनीको धितोपत्र सार्वजनिक निष्काशन हुँदा सीडीएसले तयार गरेको अनलाइन सफ्टवेयर ‘मेरो शेयर’मार्फत घरमै बसेर वा आफ्नो खाता रहेको बैङ्क तथा वित्तीय संस्थाबाट फारम भरेर पनि आवेदन दिन सकिने व्यवस्था छ ।

अभियानमा प्रकाशित समाचारअनुसार हालसम्म मेरो शेयर प्रयोगकर्ताको सङ्ख्या १ लाख ७२ हजार ८ सय ७६ पुगेको छ । छ्याङ्दी हाइड्रो पावरको प्राथमिक निष्कासनसँगै विभिन्न बैङ्क तथा वित्तीय संस्थामार्फत परीक्षणका रूपमा शुरुआत गरिएको यस प्रणालीमा हालसम्म ३४ ओटा सार्वजनिक निष्कासनका लागि ५ लाख ७९ हजार ८ सय ५६ ओटा खरीद आवेदन प्रविष्टि भइसकेको सीडीएसले बताएको छ ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्