Logo
११ श्रावण २०८१, शुक्रबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आदेश खारेज, राष्ट्रिय सभाका तीन सदस्यलाई सपथको बाटो खुल्यो

काठमाडौं : राष्ट्रपतिद्वारा राष्ट्रिय सभामा मनोनित तीन जना सांसदको सपथको लागि बाटो खुलेको छ । उनीहरुको सपथ रोक्न माग गर्दै परेको मुद्दामा सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज भएको छ ।

अदालतको आदेशका कारण राष्ट्रियसभामा मनोनीत तीन सांसदले यही फागुन २० गते शपथ लिन पाएका थिएन । गत फागुन १३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासबाट राष्ट्रियसभा सदस्यका लागि मनोनयन भएका डा खतिवडा, विडारी र पौडेललाई माननीय सदस्यका हैसियतको शपथ नगर्न/नगराउन संघीय संसद् सचिवालय तथा विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

अदालतको आदेशपछि राष्ट्रियसभा सदस्य एवं अर्थमन्त्री युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौडेललाई शपथ लिन रहेको अवरोध अब हटेको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहन नपर्ने आदेश जारी गरेपछि राष्ट्रियसभाका तीन सदस्यलाई शपथ लिन बाटो खुलेको हो ।

आदेशमा भनिएको छ, ‘यही फागुन १३ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहन परेन । संवैधानिक तथा कानूनी प्रश्नको निरुपण संवैधानिक इजलासबाट हुन उपयुक्त देखिएको छ।’

‘विषयवस्तुको गाम्भीर्यताका आधारमा चाँडो निर्णय हुनुपर्ने प्रकृतिको देखिएकाले अग्राधिकार दिई प्रस्तुत निवेदन संवैधानिक इजलासमा पेश गर्न’ आदेशमा भनिएको छ ।

तत्कालीन प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाको सदस्यका लागि तीन व्यक्तिको नाम गत माघ २६ गते सिफारिश गरेको थियो । तर वर्तमान सरकारले तीन व्यक्तिको नाम फिर्ता लिएर अर्का तीन व्यक्तिको नाम सिफारिश गरेको थियो ।

राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाई दायर रिट निवेदनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका सदस्यका लागि सिफारिश गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले संयुक्तरुपमा ‘असंवैधानिक रुपमा आफूहरूलाई मनोनीत नगरिएको’ भन्दै रिट निवेदन दायर गरेका थिए ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्