Logo
११ श्रावण २०८१, शुक्रबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एभरेष्ट पेपर मिलले टेरेन सर्वोच्चको आदेश

जनकपुरको महेन्द्रनगर ५ स्थित एभरेष्ट पेपर मिलकोे विषादीयुक्त गन्हाउँदो पानीको कारण औरही नदी नराम्ररी प्रदुषित भएको सर्वोच्च अदालतले ठहर गरि यसको उचित व्यवस्थापन गर्न आदेश दिएको डेढ दशक भईसकेको छ । १२ साउन, २०६१ मा सर्बोच्चले उद्योगबाट निस्कने फोहरको व्यवस्थापन गरि प्रदुषण रोक्न आवश्यक उपाय अबलम्बन गर्न आदेश दिएको थियो ।

सर्बोच्चले आदेश दिएको यति लामो समय बितिसक्दा पनि उद्योगले सर्बोच्चको आदेशलाइ टेरपुच्छर समेत लगाएको छैन । महोत्तरी खुट्टा पिपराढीका मनोज साह भन्छन् – बरु उद्योगबाट औरही नदीमा मिसिने पानीको मात्रा दिनानुदिन बढ्दै गएको छ भने वरिपरिको क्षेत्रमा औद्योगिक फोहोरमैला गन्हाउँदा सर्वसधारणले नाक थुनेर हिंड्नुपर्ने अवस्था छ ।
बिक्रम सम्वत् २०५८ मा महोत्तरीको जलेश्वर स्थित जनहित संरक्षण मञ्चले सर्बोच्च अदालतमा उद्योगले बिसर्जन गरेको पदार्थले जल, जमिन र वातावरणमा नकारात्मक प्रभाब परेको भन्दै रिट दायर गरेको थियो ।

रिट दायर भएको तीनवर्षपछि मात्रै सर्बोच्चले विषादीयुक्त गन्हाउँदो पानी बिसर्जन गर्दा त्यस क्षेत्रका जिवलाई प्रत्यक्ष असर परेको भन्दै त्यस्ता क्रियाकलाप बन्द गर्न उद्योगको बिरुद्धमा आदेश गरेको थियो । तर आदेशको कार्यन्वयन नभएको भन्दै महोत्तरी जलेश्वरका सुरेश पाण्डेले ५ माघ देखि २७ माघ, २०६८ सम्म जलेश्वरमा रिले अनशनमा समेत बसेका थिए । २३ दिनको अनशनपछि प्रधानमन्त्रीको कार्यालयले माँगप्रति चासो राख्दै सर्बोच्चको आदेश कार्यन्वयनका लागि पहल गर्ने आश्वासन दिंदा अनशन रोकिन पुगेपनि त्यस यता न त स्थानीय प्रशासनले नै उद्योगको प्रदूषण गर्ने गतिबिधिप्रति चासो देखाएको छ न उद्योग मन्त्रालयले नै केही गर्न सकेको छ । धनुषाको मात्रै तीन गाबिस प्रभाबित हुने भएको र अधिकांश भू—भाग महोत्तरीको पर्ने भएकोले संघर्ष दुबै जिल्लाका नागरिकहरुको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिन्छन ।

वातावरणविद् दिपेन्द्र यादबका अनुसार वरिपरिको वातावरणप्रति चासो नराख्ने र सामान्य रुपमा लिने सर्वसधारणको ब्यवहारले पनि उद्योगले मनपरी गर्ने छुट पाएको हो । वातावरणमा समेत प्रतिकूल असर पर्ने गरी सञ्चालन गरिएको उद्योगको नियमन र नियमित निरिक्षण नगरी सर्वसधारणको स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने अधिकारमाथि कुठाराघात भएको भन्दै अदालती आदेशले उद्योगले गर्ने प्रदूषणबारे नियमित निरिक्षण गर्न वातावरण निरिक्षकको यथासक्य चाँडो नियुक्ति गरी प्रदूषण रोक्न उपायहरु अबलम्बन गर्न भनिएको थियो । तर पछिल्लो ८ वर्षमा प्रभाबित सर्वसधारणबाट नै प्रदूषण रोक्न कुनै पहल भएको छ न स्थानीय प्रशासनले नै अदालती आदेशको कार्यन्वयनका लागि प्रयास गरेको देखिन्छ ।

जनकपुरस्थित बृहत्तर जनकपुर क्षेत्र बिकास परिषद्का पुर्व अध्यक्ष राम कुमार शर्माले स्थानीय प्रशासनप्रति दबाब बनाउन नसकेर अदालती आदेश कार्यन्वयन हुन नसकेको बताउँछन् । उनी भन्छन् – तात्कालै प्रभाब नदेखिएपनि औद्योगिक प्रदूषण र कुहेको पानीले बिस्तारै सर्वसाधारणको शरीरमा असर देखिन थालेकोले अबिलम्ब पेपर मिलले न्यून प्रदूषण गर्ने उपकरण जडान गरिहाल्नुपर्ने हुन्छ । औरही नदीबाट ३ सय मिटरको दूरीमा रहेको एभरेष्ट पेपर मिलले पेपर उत्पादन पछि निस्कासन गर्ने पानी नदीमै गएर मिसिन पुग्दा जलचर प्राणी नष्ट भईसकेको अवस्था छ भने आसपास क्षेत्रका गाईवस्तुहरुमा यसको पानी खाएपछि मर्ने गरेको खबरहरु समेत चर्चामा आउने गरेको छ ।

सर्बोच्चमा बहस हुँदा जाहेरवालाको तर्फबाट वकालत गरेका वातावरण वैज्ञानिक राम चरित्र साहका अनुसार पेपर मिलबाट नदीमा मिसिन गएको पानीमा बायोलोजिकल अक्सिजनको माँग १ सय एमजी प्रति लिटर हुनुपर्नेमा ६ सय ८० एमजी पाईएकोले जलप्राणीको अस्तित्व नै मेट्ने गरी पानी मिसाईने कार्य अबिलम्ब बन्द गर्न तर्क गरेका थिए । मिलबाट त्यस्ता विषादीयुक्त पानी प्रतिघण्टा १ सय ८० क्युबिक लिटर मिसिन जान्छ । विषादीयुक्त पानीले नदीको सौन्दर्यीकरणमा मात्रै नभई नदी वरिपरिको सयौँ विग्घा खेतीयोग्य जग्गामा लगाईएको बालीनाली, पशुपंक्षी र पानीमा बाँच्ने जिव प्रभाबित हुँदै आएको महेन्द्रनगर मै केन्द्रित भई लामो समयदेखि पत्रकारिता गर्दै आएका अजय कुमार साह बताउँछन् । नदीमा पाईने जलचर प्राणी बिभिन्न प्रजातिको माछा, भ्यागुतो लगायतका जिव नदीमा देखिदैन् ।

पत्रकार साहले प्रदुषणलाई समयमै नियन्त्रण नगरिए यस क्षेत्रको ईकोसिष्टममै समेत नराम्रो प्रभाव पर्ने निश्चित रहेकोले नागरिहरुले यसको व्यापक विरोध गर्ने आवश्यकता औंल्याए । यति मात्र कहाँ हो र अल्काली एसिडयुक्त पानीले गर्दा नदीको पानीको रंग पुर्ण रुपमा कालो भईसकेको र पेपर मिलकै कारण यस्तो अवस्था भईसक्दा पनि स्थानीयवासीहरुले विरोध नगर्नु दुर्भाग्यपुर्ण रहेको खुट्टाका मनोज साहको भनाई छ ।

एसिडको मात्रा बढी हुँदा धनुषाको ३ र महोत्तरीको १९ गाबिस भएर बग्ने औरही तथा बिग्ही नदीको पानी सिंचाईको लागि अनुपयुक्त करार गरिसकिएको छ । पेपर मिलको विषादीयुक्त पानी धनुषा र महोत्तरी हुँदै भारतमा बग्ने औरही नदीमा मिसिन जाँदा दुई दर्जनभन्दा बढी गाबिसका सर्वसधारणदेखि पशु र पानीमा बाँच्ने जल प्राणी प्रभाबित भएको छ । बाढीको समयमा नदीको पानी अनियन्त्रित भई खेतबारीमा पुग्दा बाली समेत नष्ट भएको धनुषा सिनुरजोडा ५ का रामप्रताप यादब बताउँछन् । कृषि बिकास कार्यालय महोत्तरी स्रोतका अनुसार धनुषा र महोत्तरीमा नदी वरिपरिको क्षेत्रफल २ हजार हेक्टर रहेको अनुमान गरिएको छ । जसमध्ये १ हजार ८ सय हेक्टर क्षेत्रफलमा सिंचाईको उचित ब्यवस्था छैन् ।

नदीमा पानीको स्तर वर्षैभरि एक देखि १० मिटरसम्म मापन गरिएको छ । यद्यपी पानी हुँदैमा पनि किसानले खेतीपातीको लागि नदीको पानीको सदुपयोग गर्न सकेका छैनन् । धनुषा र महोत्तरी छुट्याउने औरही तथा बिग्ही नदी भएर आवतजावत गर्ने सर्वसधारणलाई पनि पानीले छालामा बिभिन्न प्रकारको रोग निम्ताउने गरेको छ ।

बिक्रम सम्वत् २०४२ मा स्थापना गरिएको एभरेष्ट उद्योगले हाल वार्षिक १ सय २० मेट्रिक टन कागज उत्पादन गर्ने गरेको छ । पेपर मिलमा हाल २ हजार भन्दा बढि कामदार कार्यरत छन् । कामदारको तलबमा मात्रै उद्योगले मासिक ५० लाख भन्दा बेसी रकम खर्चिने गरेको छ । सर्बोच्च अदालतमा पेपर मिलको विषादीयुक्त प्रदूषित पानीको उचित ब्यवस्थापन गर्न २०५८ सालमा नै रिट पनि पर्यो । पेपर मिलका प्रबन्धक सन्तोष दाहालका अनुसार वातावरण प्रदूषण ऐन २०५४ ले तोके बमोजिम पानीमा विषादीको मात्रा घटाउन प्लान्ट स्थापना गरिएको छ । तर प्लान्टले पानीमा विषादीको मात्रालाई नियन्त्रण गरी न्यून गर्न सकेको छैन् ।

धनुषाको महेन्द्रनगरमा मिसिएको पेपर मिलको प्रदूषित पानी शान्तिपुर, बटेश्वर हुँदै महोत्तरीको सितापुर, हरिणमरि, तपनपुर, खुट्टा, रतौली लगायतको गाबिस भएर जनकपुरको दक्षिण पट्टी भई भारतीय भूमिमा जाने गरेको छ ।
उद्योग स्रोतले दिएको जानकारी अनुसार उद्योग संचालकले आप्mनो मनोमानी कायम राख्न केही कानुन कार्यान्वयन गर्ने निकायका सरकारी कर्मचारीहरु ,केही पत्रकार तथा स्थानीय गुण्डाहरुलाई समेत महिनाबारी दिने गरेको छ । नाम नखुलाउने सर्तमा एक कर्मचारीले भने ,‘ वातावरण प्रति को ईमान्दार छ र कि अदालतको आदेश कार्यान्वयन हुने हो , चिउरा मासुमा पत्रकार बिक्छन ,कर्मचारीहरुलाई महिने पिच्छे रेडलेबेल पुयाईन्छ अनि कसले रोक्ने प्रदुषण ? कसले कार्यान्वयन गराउने अदालतको आदेश ,भ्रष्टै भ्रष्टले भरिएको देशलाई कसले सुधार्ने भन्ने ठुलो चिन्ताको विषय छ । ’

स्मरणीय छ कि उद्योगले करोडौं अरबौ कमाउँछन तर फोहर व्यवस्थापन गर्न सक्दैनन भने त्यस्तो उद्योगले अल्पकालीन रुपमा दुई चार दश जनालाई रोजागारी दिए पनि यसको दीर्घकालीन प्रभाव अत्यन्त विकराल हुने निश्चित रहेको हुंदा यस प्रति नागरिक सचेत हुनु जरुरी रहेको स्थानीय बुद्धिजीविहरुको धारणा रहेको छ ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्