Logo
१२ श्रावण २०८१, शनिबार
(March 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० हजार अति गरिबको नि:शुल्क स्वास्थ्य बिमा

काठमाडौँ : सरकारले करिब १० हजार ‘अति गरिब’ व्यक्तिको नि:शुल्क स्वास्थ्य बिमा गरिदिएको छ । नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले सुरु गरिएको राष्ट्रिय बिमा नीतिअनुसार उनीहरूको बिमा सरकारले गरिदिएको हो । स्वास्थ्य बिमा बोर्डका अनुसार सरकारले उपलब्ध गराएको परिचय खुल्ने सूचीका आधारमा ५० हजार रुपैयाँ बराबरको बिमा गरिएको हो ।

अहिलेसम्म ५ लाख ९० हजारले स्वास्थ्य बिमा गरिसकेका छन् । निर्देशक लोहनीका अनुसार अति गरिबलाई सरकारले उपलब्ध गराएको परिचयपत्रका आधारमा योगदान (प्रिमियम) रकममा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।  अछाम, बागलुङ, तनहुँ, गोरखा, रोल्पा, जाजरकोट, बर्दिया, खोटाङ, भोजपुर, रामेछाप र सिन्धुलीमा अति गरिबको नाम सूचीका आधारमा बिमा गराइएको बोर्डका कार्यकारी निर्देशक डा.गुणराज लोहनीले बताए ।

त्यस्तै गरिबले ७५ र सीमान्तकृत गरिबले ५० प्रतिशत योगदान रकममा छुट पाउने छन् । १ देखि ५ जनासम्मको बिमा शुल्क २ हजार ५ सय लाग्ने छ । यसको अवधि एक वर्षको हुनेछ । विमितले सरकारी अस्पतालमा अन्तरंग, शल्यक्रिया, बहिरंग, प्रयोगशाला र औषधिमा बिमा रकम बराबरको स्वास्थ्य सेवा उपभोग गर्न पाउने छन् ।

कार्यकारी निर्देशक लोहनीका अनुसार सरकारी अस्पतालमा नभएका सेवा नजिकका निजी स्वास्थ्य संस्थासँग सम्झौता गरेर उपलब्ध गराइने छ । यसको सुरुवात आर्थिक वर्ष ०७२/७३ मा कैलाली, बागलुङ र इलामबाट भएको हो । परिवारमा ५ भन्दा बढी सदस्य भए ४ सय २५ रुपैयाँका दरले थप रकम तिर्नुपर्ने हुन्छ । यसमा उमेरको हदबन्दी छैन ।

वैशाख, जेठ र असारमा बिमा गर्नेले भदौ १ बाट सेवा लिन पाउने छन् । साउन, भदौ र असोजमा बिमा गर्नेले मंसिरबाट सेवा लिन पाउने छन् । कात्तिक, मंसिर र पुसमा बिमा गर्नेले फागुन र माघमा तथा फागुन र चैतमा बिमा गर्नेले जेठबाट सेवा लिन पाउने छन् ।

प्रकाशित मिति: Mar 6, 2018

प्रतिक्रिया दिनुहोस्