Logo
१६ बैशाख २०८१, आईतबार
(March 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ नेताले जस्तै पाकिस्तानी प्रधानमन्त्रीले पनि देउवालार्इ भेटेनन्

काठमाडौ : पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी दुई दिने नेपाल भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्केका छन् । काठमाडौंमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरे ।  तर अब्बासीले चार पटक प्रधानमन्त्री भइसकेका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेनन् । संसदीय लोकतन्त्रमा प्रमुख प्रतिपक्षी दलको नेता राज्यकै अंग हो ।

सरकार प्रमुखको भ्रमणमा प्रमुख प्रतिपक्षी दलका नेतासँगको भेट नराखिनूलाई अर्थपूर्ण रुपमा लिइएको छ। ‘काँग्रेस सभापतिसँगको भेटवार्ता सेड्युलमै थिएन’, परराष्ट्र मन्त्रालय स्रोतले  भन्यो, ‘प्रस्ताव भएर आएको भ्रमण तालिकालाई हामीले कार्यान्वयन गरेको मात्र हो ।’

भट्टराई र देउवालाई रात्री भोजमा पनि  बहिस्कार 
त्यस्तै औपचारिक भेटवार्ता तालिकामा नराखेपछि सोमबार साँझ प्रधानमन्त्री ओलीले पाकिस्तानी प्रधानमन्त्री अब्बासीको सम्मानमा आयोजना गरेको रात्री भोजमा पनि देउवा अनुपस्थित रहे । काँग्रेस पार्टीको तर्फबाट रात्रीभोजमा विजयकुमार गच्छदार सहभागी भएका थिए । निम्तालु डा बाबुराम भट्टराई पनि रात्रीभोजमा अनुपस्थित रहे ।

यसअघि चीन सरकारका एक जना शक्तिशाली नेताले पनि देउवासँग भेटवार्ता नगरी फर्किएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन पोलिट्ब्युरो सदस्य लिउ छि पाओले देउवालाई भेट गरेका थिएनन् । लिउ अहिले राष्ट्रपति सी जिनफिङले नेतृत्व गरेको कम्युनिष्ट पार्टीको सात सदस्यीय स्थायी समितिका सदस्य छन् ।

२०७३ पुसको पहिलो हप्ता काठमाडौं आएका उनले प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरे पनि देउवा र ओलीलाई भेट नगरी फर्किएका थिए । होटल अन्नपूर्णमा तय भएको बैठक अन्तिम समयमा उनले झाडापखला लागेको भन्दै रद्द गरेका थिए ।

ओलीसँग भेट गर्दा देउवालाई मात्र नभेटेजस्तो देखिने भएपछि उनले दुवै नेतासँग भेट नगरी फर्किएको चर्चा चलेको थियो । चिनियाँ नेता लिउ नेपाल आउनु तीन महिनाअघि २०७३ कार्तिकमा इन्डिया फाउन्डेसनको कार्यक्रममा देउवा तिब्बती निर्वासित सरकार प्रमुख लोप्साङ साङ्गेसँग एउटै मञ्चमा सहभागी भएका थिए ।

प्रकाशित मिति: Mar 6, 2018

प्रतिक्रिया दिनुहोस्