Logo
१५ बैशाख २०८१, शनिबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्क प्रक्रिया अघि बढाउन सहकार्य गरिने अब्बासी समक्ष ओलीको प्रतिबद्धता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुन: सक्रिय बनाउनुपर्ने बताएका छन् । नेपाल भ्रमणमा सोमबार आएका पाकिस्तानी समकक्षी साहिद खकान अब्बासीसँग भेटघाटका क्रममा उनले सदस्य मुलुकहरूबीच हार्दिकता कायम गर्नुपर्नेमा जोड दिए । पाकिस्तानी प्रधानमन्त्री अब्बासीले आफ्नो कार्यकालमै सार्कलाई अघि बढाउन चाहेको र त्यसमा साथ दिन आग्रह गरेपछि ओलीले आफ्नो पनि चाहना सार्कलाई पूर्ववत् सक्रिय बनाउने रहेको बताएका हुन् ।

ओली सार्कका वर्तमान अध्यक्षसमेत हुन् । सन् २०१६ नोभेम्बरमा पाकिस्तानमा हुने तय गरिएको सार्क शिखर सम्मेलन भारत–पाकिस्तान मनमुटावका कारण रोकिएको थियो । दुई प्रधानमन्त्रीको भेटघाटमा सहभागीका अनुसार १९ औं शिखर सम्मेलन जतिसक्दो छिटो गराउने विषयमा आफ्नो पनि पहल हुने ओलीले अब्बासीलाई आश्वासन दिए ।

कश्मीरको उरीमा भएको घटनालाई लिएर भारत पाकिस्तान जान नचाहेपछि बंगलादेश, भुटान, अफगानिस्तान र श्रीलंकाले भारतलाई साथ दिएका थिए । त्यसयता थप अवधि नेपालले नेतृत्व गर्दै आएको छ । पाकिस्तानी प्रधानमन्त्री अब्बासी समकक्षी ओलीलाई बधाई दिन आएका हुन् । त्यस क्रममा सार्कको विषयले पनि प्रवेश पाएको हो । यस क्षेत्रको भूराजनीतिक अवस्था पहिलेको जस्तो नरहेको भन्दै दुवै देशका प्रधानमन्त्रीले आफ्नो मुलुकको स्थायित्व, विकास र समृद्धि हेरेर काम अघि बढाउन पर्नेमा जोड दिएका थिए ।

होटल याक एन्ड यतीमा रात्रिभोजअघि भएको दुईपक्षीय एक घण्टा लामो छलफलमा दुई देशका आन्तरिक राजनीति, यस क्षेत्रमा आएको अन्तर्राष्ट्रिय राजनीतिको ‘बदलाव’ लगायत विषयमा छलफल भएको थियो । नेपालले छोटो समयमा आफ्नो राजनीतिक संक्रमणकाल अन्त्य गर्न सफल भएकोमा बधाई दिनुभएको थियो,’ छलफलमा सहभागी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पत्रकारसँग भने, ‘सार्कको विषयमा पनि छलफल भएको थियो ।

सार्क प्रक्रियालाई कसरी अघि बढाउने भन्नेमा दुवै देशले सदस्य मुलुकहरूबीच भएको असमझदारीलाई चिर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।’ दुई प्रधानमन्त्रीबीच दुईपक्षीय आर्थिक र सामाजिक विकासबारे समेत छलफल भएको उनले जानकारी दिए । अब्बासीको सम्मानमा ओलीले रात्रिभोज आयोजना गरेका थिए । भोजमा सबै पूर्वप्रधानमन्त्रीलाई बोलाइएको थियो । त्यसमा झलनाथ खनाल, माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्दको उपस्थिति थियो भने शेरबहादुर देउवाले पार्टीका उपनेता विजयकुमार गच्छदारलाई पठाएका थिए ।

दुई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र बाबुराम भट्टराई उक्त रात्रिभोजमा सरिक नभएको परराष्ट्र अधिकारीले बताए ।यस क्षेत्रको भूराजनीतिमा नयाँ फडको संकेत दिने शैलीमा पाकिस्तानका प्रधानमन्त्री अब्बासी १९ घण्टे औपचारिक भ्रमणका लागि सोमबार अपराह्न काठमाडौं उत्रेका हुन । उनी ३२ सदस्यीय टोलीसहित पाकिस्तान एयर फोर्सको विशेष विमानमा आएका थिए ।

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्