Logo
१२ श्रावण २०८१, शनिबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय दलको नेताका लागि सभापति देउवा र नेता सिंहको उम्मेदवारी

काठमाडौँ : नेपाली काँग्रेस संसदीय दलको नेताका लागि भइरहेको निर्वाचनमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिनुभएको छ । आइतबार अपराह्न ६ बजेदेखि साँझ ७ः३० बजेसम्म संसदीय दलको नेताको उम्मेदवारका लागि दरखास्त आह्वान गरिएको छ । उम्मेदवारीको दरखास्तसाथ दाखिल हुनुपर्ने शुल्क रु ४१ हजार तोकिएको छ । राष्ट्रियसभा दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने काँग्रेस संसदीय दलको विधानमा उल्लेख छ ।

आइतबार मतदाता नामावली प्रकाशन भएको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ सांसदको नाम मतदाता नामावलीमा छ । नेपालको संविधान जारी भएपछि प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो ।  सोमबार बिहान ८ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिका सदस्य सचिव केशव रिजालले जानकारी दिनुभयो ।

सोमबार बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा मतदान हुनेछ । मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने उहाँले राससलाई जानकारी दिनुभयो । पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने सचिव रिजालले बताउनुभयो ।

त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था रहेको सांसद बद्री पाण्डेले बताउनुभयो । उनन्साठी सदस्यीय राष्ट्रियसभामा काँग्रेसका १३ सांसद छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो ।

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्