Logo
२ श्रावण २०८१, बुधबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अश्लिलताको पर्यावाची नबनोस् भोजपुरी

ध्रुबकुमार झा

धनुषा जिल्लाको हँसपुर वडा नम्बर ३ मा कुनै पनि कार्यक्रममा भोजपुरिया अश्लिल गीत बजाउन पुर्ण प्रतिबन्ध लगाईएको घटना सामाचार पत्रको मुख्य समाचार बन्न नसकेपनि सर्वसाधारण नागरिक माझ ठुलै चर्चाको विषय बनेको छ ।
वडा अध्यक्ष उदय सिंहको अगुवाईमा भएको यो निर्णय जिल्लाको अन्य गाउँपालिकाहरुमा बहशको विषय समेत बनेको छ भने सभ्य समाजको निर्माणमा जुटेका स्थानीय बुद्धिजिवी र समाजका अगुवाहरुले निर्णयको प्रशंसा गरेका छन ।

हंसपुरको यो निर्णयले मनोरंजनको नाउँमा छाडा अश्लिल क्रियाकलाप नियन्त्रण विरुद्ध नजीर स्थापित गरेको छ भने जिल्लाको विभिन्न गाउँपालिका एवं नगरपालिकाहरुमा पनि यस प्रकारको निर्णय गर्ने बाटो पनि खोलिदिएकोछ । एकातिर अश्लिलता प्रदर्शनको बिरुद्ध विभिन्न निर्णयको प्रतिक्षामा रहेको धनुषावासीेको लागि केही दिन यता भोजपुरी संस्कृतिको नाउँमा प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अश्लिलताको नाँगो नाचको श्रृंखलाबद्ध आयोजनाहरु स्वभाविक रुपमा चिन्तनीय विषय बनेको छ ।

ज्ञान ,विवेक र तपको केन्द्र मिथिला भूमिमा द्दिअर्थी गीतमा छोटो लुगा लगाएर नाच्ने परम्परा कहिले रहेन । तपोभूमि जनकपुरधाममा मनोरंजनको निम्ति कार्यक्रमहरुको आयोजना गर्ने नहुने पक्कै भन्न खोजिएको छैन र आयोजना नभएको पनि होईन । विश्वकर्मा पुजा होस कि गणेश पुजा या अन्य कुनै पनि बिशेष पर्व तिहार छिमेकी राष्ट्बाट समेत गीत संगीत टोलीहरुलाई बोलाएर कार्यक्रमको आयोजना गरिएको छ र भोली पनि जारी रहनेछ ।

कुरो २०५० सालको हो स्थानीय जनक चौकमा भारतको बिहारबाट अर्केष्टा मंगाईएको थियो । कमिलो समेत हिँडन नसक्ने गरी दर्शकको भीड थियो । दर्शक मध्ये नै कसैले चप्पल फाल्दा एक प्रहरीलाई त्यो चप्पल लागेपछि भीडमा बाझा बाभको अवस्था सृजना भएको थियो । भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गर्नु पर्यो ।

अत्याधिक भीड र भागम भागमा थुपै्र दर्शक नराम्ररी घाईते समेत बनेका थिए कतिपय निर्दोषहरु थुनामा पुगे भने कतिपयमाथि सार्वजनिक मुद्दा समेत चलाईएको थियो । घटना भए लगत्तै स्थानीय प्रशासनले कडा रुपमा प्रस्तुत हुँदै भारतबाट अर्केष्टा मगाउन नपाउने निर्णय गरेको थियो । धनुषाको तत्कालीन प्रमुख जिल्ला अधिकारी टिका राम अर्यालको अगुवाईमा भएको यो निर्णय सुरक्षालाई दृष्टिगत गर्दै लिईएको थियो या अन्य कारणले मलाई थाहा भएन तर निर्णय स्वागतयोग्य नै मान्नु पर्छ किनकी त्यो घटना पछि एकातिर मैथिली भाषाका साँस्कृतिक कार्यक्रमहरुको संख्यामा उल्लेख्य बृद्धि भएर गयो भने अर्को तर्फ अनियन्त्रित भीडको कारण हुने घटना पुर्ण रुपमा बन्द भयो ।

स्थानीय महाबीर युवा कमिटी ,रामानन्द युवा कमिटी , मिथिला नाट्य कला परिषद लगायतका विभिन्न संघ संस्थाहरुको आयोजनामै कार्यक्रमहरुको ओइरो लाग्न थालेको थियो जसले एकातिर कला र संस्कृतिको जर्गेनाको निम्ति कोशेढुँगा साबित भयो भने अर्को तर्फ सभ्य रुपमा मनोरंजन गर्न सक्ने वातारण निर्माण भएको थियो । स्थानीय कलाकारहरुको प्रदर्शनकै प्रभाव थियो कि कला र साहित्य तर्फको आकर्षणमा समेत बृद्धि भएको थियो । जुन कि पछिल्लो समयमा हराएको अवस्था छ ।

मनोरंजन गर्न पाउनु मानवको जन्मसिद्ध नैसर्गिक अधिकार पनि हो र सबैले मनोरंजन गर्न पाउनु पर्छ । तर मनोरंजनको नाउँमा अश्लिलताको प्रर्दशन गर्ने अधिकार कसैसंग छैन । हिन्दुधर्मावलम्बिहरुको केन्द्र जानकी नगरीको रुपमा विश्वमै आप्mनो छुटटै नाम कमाउन सफल जनकपुरधाममा अश्लिलतालाई पस्केर अर्थोपाजनलाई मात्र मुख्य उद्देश्य बनाई जारी रहेको क्रियाकलापहरु मिथिला संस्कृति माथिको आक्रमण गर्ने षडयन्त्रको रुपमा समेत देखापरेको छ ।

कुनै पनि भाषा आफैमा खराब हुँदैन तर भोजपुरी भाषामा पछिल्लो समयमा जनकपुरमा आयोजना गरिएको कार्यक्रममा अश्लिल ,भद्दा गीत र छोटा लुगा लगाई गरिएको भडकाउ नृत्यले भोजपुरी भाषालाई अश्लिलताको पर्यावाची बनाएको अनुभुत गराएको छ । भोजपुरी भन्ने बित्तिक्कै दिमागमा अश्लिल र भद्दापनको तस्वीर बन्नु भोजपुरीको लागि उचित पक्कै पनि होइन यसले एउटा भाषाको गरिमालाई नै समाप्त पार्ने हुँदा भोजपुरीलाई अश्लिलताको पर्यावाची बनाउने षडयन्त्रको रुपमा पनि लिन सकिन्छ । मिथिलाँचलमा भोजपुरी संस्कृतिलाई निषेधित होइन उसको लोकाचारमै केन्द्रित रहेर प्रवद्र्धन वा प्रसार गर्ने हो भन्ने मेरो मान्यता रहेको छ ।

सम्भवतः एशियाकै सबभन्दा पुरानो एवँ नेपालको सबैभन्दा पुरानो सभ्यता मिथिलाको राजधानी जनकपुरधाममा स्थानीय संस्कार र संस्कृति विरुद्धको यस्ता आक्रमणहरुलाई निरुत्साहित मात्र होइन अश्लिल कार्यक्रम गर्नै नपाईने गरि पुर्णतः प्रतिबन्ध लगाउनु पर्छ । जिल्ला प्रशासन कार्यालय धनुषाले यसको पनि नजीर स्थापित गरिसकेको छ ।
वर्तमानको गतिविधीले भविष्यको निर्धारण गर्ने तथ्यलाई कसैले नर्कान मिल्दैन ।

आज हुने हरेक गतिबिधीको प्रभाव भोलीको नयाँ पुस्तामा पर्ने निश्चित छ । तसर्थ समाजमा नाकारात्मक प्रभाव पार्ने अश्लिल कार्यक्रमहरुको व्यापक विरोध जरुरी छ । कुनै पनि सर्तमा अश्लिलता स्विकार गर्न सकिन्न । यसको निम्ति समाजको ऐनाको रुपमा रहेको संचार जगतले संवेदनशिल भूमिका खेल्दै व्यवसायिक पत्रकारिताको नाउँमा केही रकमको निम्ति संस्कार र संस्कृति विपरितको गतिबिधीलाई प्रश्रय दिनु हुँदैन भने नागरिक समाजका अगुवाहरुले यस बिरुद्ध अभियान नै थाल्नु पर्ने आजको घनिभूत आवश्यकता रहेको मेरो ठहर छ ।

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्