Logo
१२ श्रावण २०८१, शनिबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज संघीय सांसदको शपथ, अर्थमन्त्रीसहित तीन जनाले लिन नपाउने

काठमाडौं  : आज संघीय संसदका निर्वाचित सदस्यले शपथ लिँदैछन् ।  गत मंसिर २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपनि राष्ट्रिय सभा गठनपछि मात्रै प्रतिनिधिसभाका समानुपातिकतर्फको अन्तिम परिणाम प्राप्त हुने संवैधानिक प्रावधानका कारण चुनाव सकिएको तीनमहिना पछि सांसदहरुले शपथ लिन लागेका हुन ।

संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले शपथ र पहिलो बैठकका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभयो । सचिवालयले आज बिहान सर्वदलीय बैठक समेत बोलाएको छ । बैठकमा सचिवालयले तयार पारेको संसद सञ्चालनको अन्तरिम कार्यविधि दलहरूबाट साझा सहमति जुटाइनेछ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसदका कुल ३ सय ३४ सदस्यमध्ये ३ सय ३० जनाले शपथ लिने सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतले शपथमै रोक लगाएका कारण सरकारको सिफारिसमा राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईको शपथ आज नहुने संसद सचिवालयले जनाएको छ । यस्तै फौजदारी अभियोग लागेका कैलाली १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद रेशम चौधरी अदालतको आदेशमा थुनामा रहेकाले उनको पनि शपथ आज हुने छैन । दुवै सभामा सांसदको शपथ ज्येष्ठ सदस्यले गराउनेछन् ।

प्रतिनिधिसभाको ४ बजे र राष्ट्रिय सभाको ५ बजे आ–आफ्नै सभाकक्षमा शपथ समारोह हुनेछ । संसदको पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाको सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिनिधिसभामा राजपा नेता महेन्द्र राय यादव र राष्ट्रिय सभामा कांग्रेसकी तारादेवी भट्टले शपथ गराउने तय भएको छ । त्यसअघि यादव र भट्टले आज दिउँसो १ बजे राष्ट्रपतिबाट शपथ लिने कार्यक्रम छ । यसैबीच ४४ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिने जानकारी गराएको प्रवक्ता गौतमले बताउनुभयो । संघीय संसदको पहिलो बैठक भने भोलि बस्दैछ । अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको अलग–अलग बैठक बोलाइएको छ ।

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्