Logo
११ श्रावण २०८१, शुक्रबार
(March 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन भएको नौ महिना भइसक्दा पनि स्थापना भएनन् वडा कार्यालय

डडेल्धुरा : स्थानीय तहको निर्वाचन भएको नौ महिना भइसक्दासम्म पनि अमरगढी नगरपालिका डडेल्धुराले वडा कार्यालयहरु स्थापना गर्न सकेको छैन । वडाका कार्यालय स्थापनाका लागि भौतिक पूर्वाधार र कर्मचारीको अभावका कारण अमरगढी नगरपालिकाले वडा कार्यालय स्थापना गर्न नसकेको हो ।

एघार वडा रहेको अमरगढी नगरपालिकामा ७ र १० दुईवटा वडा कार्यालय स्थापना गरेको भए पनि अन्य नौवटा वडा कार्यालय हालसम्म पनि स्थापना गर्न सकेको छैन । केही वडा कार्यालय झोले कार्यालयका रुपमा स्थापना भए तापनि सेवाग्राहीलाई सुविधा प्रदान गर्नका लागि भने नगरको कार्यालयमा नै धाउनु पर्ने एकजना वडाध्यक्षले जानकारी गराउनुभयो ।

वडा कार्यालय स्थापना नहुँदा सेवाग्राहीले वडा कार्यालयबाट पाइने सिफारिसका लागि पनि जिल्ला सदरमुकाम रहेको नगरपालिकाको कार्यालयमा धाउनु पर्दा समस्या हुने गरेको छ । नगरपालिकाको कामबाहेक अन्य विषयगत कार्यालयको काम पनि नगरपालिकाको कार्यालयको हाताबाट सञ्चालन भएकाले सेवाग्राहीको भीडका कारण दिनभरको समय लाग्ने गरेको अमरगढी–६ का सेवाग्राही मद्यरी ताम्राकारले जानकारी दिनुभयो ।

नगरपालिका कार्यालयमा पनि एकै कोठाबाट बहुवडाले कार्यालय सञ्चालन गरेको वडा नं ३ का अध्यक्ष गाविन्दराज बोहराले जानकारी दिनुुभयो । उहाँकै कार्यकक्षमा वडा कार्यालयका टेबुल राखेर सेवा दिनुुपर्दा सेवा झन्झटिलो भएको कर्मचारीको भनाइ रहेको छ ।

जिल्लामा रहेका कर्मचारीको संख्या कम भएकाले मागअनुसारका कर्मचारीको व्यवस्थापन गर्न नसकेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । मागअनुसारका कर्मचारी व्यवस्थापन नहुँदा सेवाग्राहीले दुःख भोग्नु परेको छ भने वडा कार्यालयको अनुभूतिसमेत हुन नसकेको सर्वसाधारणको बुझाइ छ ।

कर्मचारीदेखि भौतिक संरचनाको अभावका कारण वडा कार्यालय स्थापना गर्न नसकेको भए पनि जिल्ला प्रशासनसँग कर्मचारीको व्यवस्थापनका लागि माग गरेको र मागअनुसार कर्मचारी आए केही दिनमै सम्पूर्ण वडा कार्यालय स्थापना भइसक्ने अमरगढी नगरपालिकाले जनाएको छ । सिंहदरबारको अधिकार गाउँगाउँसम्म पु¥याउने आश्वासन दिएको भए पनि त्योअनुसारको काम नहुँदा आमसर्वसाधारण भने निराश बन्न थालेका छन् । (रासस)

प्रकाशित मिति: Mar 3, 2018

प्रतिक्रिया दिनुहोस्