Logo
१२ श्रावण २०८१, शनिबार
(March 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वसम्मतबाट आफै नेता बन्ने दाउमा सभापति देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफूलाई सर्वसम्मत बनाउने प्रयास गरेका छन् । कांग्रेस संसदीय दलको नेताका लागि सोमबार निर्वाचन हुँदै छ । उम्मेदवारी मनोनयन भने आइतबार साँझ नै छ । पार्टी पराजित भएको अवस्थामा दलको नेता नबन्न देउवालाई चौतर्फी दबाब छ ।

ती सबै दबाबलाई बेवास्ता गर्दै देउवाले दलको नेतामा आफै सर्वसम्मत बन्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग संवाद थालेका हुन् । केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ देउवाको सन्देश लिएर शनिबार साँझ बोहराटारस्थित पौडेल निवास पुगेका थिए । त्यस अवसरमा श्रेष्ठले संसदीय दलको नेतामा देउवालाई सहयोग गर्ने गरी उपनेता, दलको प्रमुख सचेतक र उपसचेतकमध्ये एक पद र दलको कार्यसमितिमा समेत भागबन्डा मिलाउने देउवाको प्रस्ताव सुनाएका थिए ।

देउवानिकट नेता रमेश लेखकले पार्टीभित्र द्वन्द्व बढन नदिनकै लागि सभापति देउवाले सर्वसम्मतको प्रयास थालेको बताए । दलको नेताका लागि देउवा र वरिष्ठ नेता पौडेल पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह अघि बढेका छन् । महामन्त्री शशांक कोइराला सभापति देउवाले आफूलाई सहयोग गरेमा सर्वसम्मत हुने भन्दै दलको नेता बन्ने आकांक्षा देखाइरहेका छन् । तर, उनले चुनावी प्रतिस्पर्धामा भने नउत्रने बताए ।

गत बुधबार आफ्नै निवासमा आयोजना गरिएको दिवा भोजमा महामन्त्री कोइरालाले आफूलाई दलको नेताका लागि सर्वसम्मत बनाउन सभापति देउवालाई आग्रह गरेको तर उनले आफैं अघि बढ्ने भन्दै सहयोग मागेपछि प्रतिक्रियाविहीन भएको जानकारी गराएका थिए ।

प्रकाशित मिति: Mar 3, 2018

प्रतिक्रिया दिनुहोस्