Logo
१२ श्रावण २०८१, शनिबार
(March 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ वर्षभित्रै पाँचौं पटक प्रधानमन्त्री बन्ने आसमा देउवा, स‌ंसदीय दलमा फेरि लड्दै

काठमाडौँ : कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सोमबार हुने संसदीय दलको चुनावमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्दैछन्  । पार्टीभित्रको चर्को विवाद र दबाबबीच उनी किन संसदीय दलको नेता अन्य नेतालाई छाड्न तयार छैनन् ?

किनकि, देउवा ‘कर्म’ मा भन्दा भाग्यमा बढी विश्वास गर्छन् । उनलाई ज्योतिषीले पाँचौं पटक प्रधानमन्त्री बन्ने मन्त्रणा दिएका छन् । त्यो मन्त्रणा देउवा आफैंले पार्टीको केन्द्रीय कार्यसमिति बैठक र निर्वाचनताका आमसभामै सार्वजनिक गरेका थिए । सरकारको पक्षमा दुई तिहाइ (संघीय समाजवादी फोरम सरकारमा सामेल भए) को समर्थन पुग्न लागेका बेला देउवा भने ज्योतिषीलाई पत्याएर भाग्यवादका पछाडि लागेका छन् ।

‘देउवा भनेका सत्ता राजनीतिका खेलाडी हुन् । उनलाई पार्टी जत्रो होस्, जहाँसुकै होस्, मतलब छैन, तर सत्ता राजनीति आफ्नो वरिपरि होस् भन्ने चाहना सदैव हुन्छ,’ देउवालाई नजिकबाट चिन्ने कांग्रेसका एक नेता भन्छन्, ‘वाम गठबन्धनभित्र द्वन्द्व आएर बीचमै सत्ता ढल्ने अनुमान देउवाको छ । त्यसो भए फेरि पनि आफू प्रधानमन्त्री बन्ने आस उनमा छ ।’

निर्वाचनमा पार्टी पराजय भएको जिम्मेवारी लिँदै कम्तीमा संसदीय दलको नेता छाडदा देउवाको कद घट्ने थिएन । ०५१ मा गिरिजाप्रसाद कोइरालाले पार्टी हार्दा आफू अघि नबढेर यिनै देउवालाई अवसर दिएका थिए । जुन अवसरकै कारण उनी युवा अवस्थामै मुलुकको कार्यकारी प्रमुख बन्ने सौभाग्य पाए । तर, तिनै देउवा आफ्ना ‘राजनीतिक गुरु (कोइराला)’ ले बसालेको थितिलाई निरन्तरता दिन चाहिरहेका छैनन् । उल्टै ‘चुनाव आफू नजित्ने,अनि मलाई दोष थुपार्ने ?’ भन्दै दलको नेता नहुन सुझाव दिनेहरूप्रति आक्रामक रूपमा प्रस्तुत हुने गरेका छन् ।

कांग्रेस नेता विमलेन्द्र निधि संसदीय दलको नेतामा देउवाको विकल्प नभएको देख्छन् । देउवाले छाडदा महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहमध्ये एक दलको नेता बन्न सक्छन् । त्यसो हुँदा नेतृत्व तहबाट आफू पछि पर्न सकिने भय देउवामा रहेको अनुमान निधिको छ । निधि भन्छन्, ‘देउवाको विकल्प भनेको रामचन्द्र पौडेल हो, तर अहिले पौडेल निर्वाचित भएर आउन सक्नुभएको छैन,’ उनले भने, ‘पौडेल नहुँदाको बखतमा देउवाको विकल्प पार्टीभित्र कोही पनि छैन ।’

पार्टी हितका लागि देउवालाई संसदीय दलको नेता नबन्न कांग्रेसका वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्रीद्वय सिंह र कृष्णप्रसाद सिटौलासमेतले आग्रह गर्दै आएका छन् । पार्टीको १३ औं महाधिवेशनमा देउवाको पक्षमा लागेका सिटौलासमेत यतिबेला देउवाको विपक्षी कित्तामा छन् । पार्टी पराजित हुनुमा देउवाको एकल कार्यशैली र भूमिका मुख्य जिम्मेवार ठान्दै सिटौलाले यो कित्ता छाडेका हुन् । उनले शुक्रबार नै सार्वजनिक कार्यक्रममार्फत चार पटक प्रधानमन्त्री भइसकेका देउवालाई पुन: संसदीय दलको नेता नबन्न
आग्रह गरे ।

वरिष्ठ नेता पौडेलले केन्द्रीय कार्यसमितिको बैठकमा सभापतिलाई सम्बोधन गरेको ५ पृष्ठको पत्र नै प्रस्तुत गरी देउवालाई दलको नेता नहुन आग्रह गरिसकेका छन् । महामन्त्री कोइरालाले पनि फागुको अघिल्लो दिन बुधबार चियापानमार्फत संसदीय दलको नेताको लोभ नगर्न देउवालाई आग्रह गरे ।

पार्टी पदाधिकारी र वरिष्ठ नेताहरूको आग्रहविपरीत देउवा किन दलको नेताका लागि मरिहत्ते गर्दैछन् त ? कांग्रेसका युवा नेता प्रदीप पौडेलका अनुसार देउवाले यही ५ वर्षभित्र पुन: प्रधानमन्त्री बन्ने सपना देखेका छन् । ‘नेपालको राजनीतिमा असम्भव भन्ने नै छैन, सम्भावना नदेखिएको विषयसमेत सम्भावना बनेका विगतमा उदाहरण छन्,’ पौडेलले भने, ‘वाम गठबन्धन ५ वर्षसम्म टिक्दैन र बीचमै प्रधानमन्त्री बन्न सकिन्छ कि भन्ने सोचले पनि दलको नेतामा आफैं प्रतिस्पर्धा गर्न खोजेको देखिन्छ ।’

देउवाको दोस्रो स्वार्थ शक्तिमा आफैं रहिरहने हो । ‘पार्टी सानो होस् कि ठूलो, तर शक्तिमा मैं हुनुपर्छ भन्ने अभीष्टले पनि दलको नेता उहाँले छाड्न चाहनुभएन,’ उनले थपे, ‘पार्टीमा मजबुत भइराख्ने र अहिले नदेखिएका सम्भावना पछि देखिँदा आफैं अघि बढ्ने संकेत हो यो ।’

स्थानीय, प्रदेश र प्रतिनिधिसभा तीनै तहमा पार्टीले नराम्रो पराजय भोगेपछि आधा दर्जन युवा नेता नेतृत्व परिवर्तनको अभियानमा छन् । तर, देउवाले दलको नेतासमेत आफैं लिएर नेतृत्व नछाड्ने संकेत दिएका छन् । ‘दलको नेता नछाड्नु भन्नुको अर्थ आगामी १४ औं महाधिवेशनमा पार्टी सभापति आफंै लड्ने भित्री उद्देश्य हो,’ पौडेल पक्षीय एक नेताको बुझाइ छ, ‘आफ्नो समूहका वरिष्ठ नेताले पनि चुनाव जितेनन् । त्यसैले आफूले छाडदा पुरानो संस्थापन पक्षको हातमा पार्टी नेतृत्व जाला भन्ने भय एकातिर भयो भने अर्कोतर्फ अहिल्यैदेखि आफैं बलियो भइयो भने मात्रै फेरि पार्टी सभापति जित्न सकिन्छ भन्ने अभीष्टले काम गर्‍यो ।’

देउवानिकट नेता बालकृष्ण खाँड पार्टी सभापति र संसदीय दलको नेता अलग–अलग व्यक्ति हुँदा पार्टीभित्र द्वन्द्व बढ्ने गरेको दाबी गर्दै देउवालाई दलको नेता बनाउनुपर्ने तर्क गर्छन् ।‘पार्टी सभापति र संसदीय दलको नेता अलग–अलग बन्दा कस्तो द्वन्द्व हुन्छ भन्नेबारे हामीलाई बीपी कालदेखि नै थाहा छ,’ उनले भने, ‘पार्टीभित्र द्वन्द्व नहोस् र अर्को शक्तिकेन्द्र नबनोस् भनेर पनि देउवालाई दलको नेतामा अघि सार्नुपर्ने मान्यता हामीले राख्दै आएका हौं ।’

कांग्रेस संसदीय दलको नेताको चुनाव फागुन २१ मा हुने भएको छ । २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन हुनेछ । निर्वाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार २० गते साँझ ६ देखि ७ बजेसम्म उम्मेदवारी दर्ता, सवा ८ बजेसम्म दाबीविरोध र त्यसपछि नामावली प्रकाशन हुनेछ । २१ गते सवा ८ बजेसम्म उम्मेदवारी फिर्ताकोसमय दिइनेछ ।

उम्मेदवारी दर्ताका लागि ४१ हजार रुपैयाँ शुल्क तोकिएको छ । कांग्रेसले संसदीय दलको निर्वाचनका लागि केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको संयोजकत्वमा नवीन्द्रराज जोशी र भीष्मराज आङदम्बे सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ भन्दै कान्तिपुरमा समाचार छ ।

प्रकाशित मिति: Mar 3, 2018

प्रतिक्रिया दिनुहोस्