Logo
१२ श्रावण २०८१, शनिबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कामचलाउ सभामुख महिन्द्रराय यादवले बज्जिका भाषामा सपथग्रहण गर्ने

काठमाडौँ : प्रतिनिधिसभाका जेष्ठ सदस्य (कामचलाउ सभामुख) महिन्द्रराय यादवले बज्जिका भाषामा शपथ लिने भएका छन् । संघीय संसदका सदस्यको शपथ ग्रहण आइतबार दिउँसो तोकिएको छ । संसद सचिवालयले दिउँसो ४ बजे प्रतिनिधिसभा र ५ बजे राष्ट्रियसभाको शपथ ग्रहण हुने जनाएको छ ।  संविधानअनुसार शपथ ग्रहणको तीन दिन अघि कुनै सदस्यले नेपाली बाहेक अरु भाषामा शपथ लिन चाहेमा भाषाको लिखित प्रतिसहित निवेदन दिनुपर्ने व्यवस्था छ ।

नागरिकतामा ८० वर्ष कायम भएका कारण जेष्ठ सदस्य भएका यादवले आफ्नो मातृभाषा बज्जिका भएकाले त्यही भाषामा शपथ लिन संघीय संसद सचिवालयमा निवेदन दिएका हुन् । सचिवालयले नेपालीबाहेक अरु भाषामा शपथ लिन चाहने निर्वाचित सदस्यलाई शुक्रबारसम्म निवेदन दिन आह्वान गरेको थियो ।

जेष्ठ सदस्यका हैसियतले ४ बजे यादवले शपग ग्रहण गराउनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिनेछन् । यादवले राष्ट्रपति भण्डारीले नेपाल भाषामा बोलेको कुरालाई बज्जिका भाषामा उल्था गर्नेछन् ।  बज्जिका भाषा मैथिलीसँग मिल्दोजुल्दो भाषा हो । मधेशी समुदाय अन्तरगत प्राय: ब्रहामण-कायस्थ लगायतका जातजातीले मैथिली र अन्य बहुसंख्यक जातजातीले बज्जिका भाषा बोल्ने भाषाका रुपमा परिचित छ ।

बज्जिका भाषा दुई नम्बर प्रदेशका जिल्लाका दक्षिणी सीमा क्षेत्र र भारततर्फ मिथिला क्षेत्रमा पर्ने विहार, उत्तर प्रदेशलगायका क्षेत्रमा बोलिने भाषा विद्हरु बताउँछन् । विशेष गरी नेपालको सर्लाही र रौतहट जिल्लाको दक्षिणी भेकमा बस्ने मधेसी समुदायले मातृ भाषाका रुपमा बज्जिकालाई प्रयोग गर्छन् । २०६८ सालको जनगणना अनुसार नेपालमा बोलिने यो सातौं ठूलो भाषा हो । तथ्यांक विभागका अनुसार २.९९ प्रतिशत नागरिकले बज्जिका भाषा बोल्छन् ।अहिलेसम्म बज्जिका, मगही, ठेटी लगायतका भाषालाई मैथली नै भनिदै आएको थियो ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्