Logo
१२ श्रावण २०८१, शनिबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा–सिंहबीच कांग्रेस संसदीय दलको नेतामा प्रतिष्पर्धा हुने

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेताका लागि निर्वाचन भएमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

कांग्रेसले यही फागुन २१ गते संसदीय दलको नेता निर्वाचन गर्न तालिका सार्वजनिक गरेको छ । पार्टी महामन्त्री डा शशांक कोइरालाले फागुन १६ गते टोखास्थित आफ्नो निवासमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गरेका दिवा खाना कार्यक्रममा सभापति देउवा र नेता सिंहले दलको नेतामा उम्मेदवारी दिने बताए ।

कांग्रेसमा यतिखेर दलको नेताका लागि सभापति देउवाले संस्थापन पक्षबाट र नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबाट उम्मेदवारी दिने चर्चा शुरु भएको छ । यद्यपि पार्टीका मध्यमार्गी नेताहरु भने निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआई कमजोर भएको परिस्थितिमा सर्वसम्मत रुपमा नेता चयन गर्नुपर्ने कसरतमा जुटेका छन् ।
महामन्त्री डा कोइरालाले संसदीय दलको नेता सर्वसम्मत हुनुपर्ने धारणा व्यक्त गर्दै आएका छन् र उनले सर्वसम्मत भएमात्र आफू दलको नेताका लागि अघि बढ्ने स्पष्ट पारे । कांग्रेस वरिष्ठ नेता पौडेल प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

जम्मा २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । संस्थापन पक्षका बहुमत सांसद भएकाले संसदीय दलको नेताको निर्वाचन भएमा सभापति देउवा सहजै निर्वाचित हुने अनुमान गरिएको छ । नेपालको संविधान जारी भएपछि प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो ।

कांग्रेस संसदीय दल निर्वाचन समितिले फागुन २१ गते संसदीय दलको नेता निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ । निर्वाचन तालिकाअनुसार फागुन २० गते अपराह्न ४ः३० बजे मतदाता नामावली प्रकाशन, फागुन २० गते अपराह्न ६ देखि साँझ ७ः३० बजेसम्म उम्मेदवारका लागि दरखास्त आह्वान र उम्मेदवारको अन्तिम नामावली प्रकाशन फागुन २१ गते बिहान ८ः३० बजे हुनेछ ।

उम्मेदवारीको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ४१ हजार तोकिएको छ । फागुन २१ गते बिहान १० देखि दिनको १ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने र मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने समिति सदस्य सचिव केशव रिजालले जानकारी दिए ।

पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । फागुन २१ गते संसदीय दलको नेताका लागि निर्वाचन हुने र त्यसपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने सचिव रिजालले बताए ।
राष्ट्रियसभामा भने दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा छ । त्यस्तै राष्ट्रियसभाको प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था रहेको सांसद बद्री पाण्डेले बताए ।

उनन्साठी सदस्यीय राष्ट्रियसभामा कांग्रेसका १३ जना सांसद छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो । नयाँ सरकार गठनसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आ–आफ्नो पार्टीका संसदीय दलका नेता चयन गरे पनि कांग्रेसले भने सांसद पदको शपथपछि मात्र संसदीय दलको नेता चयन गर्न वैधानिक हुने जिकिर गरेको छ ।

कांग्रेसले बहुदलीय संसदीय शासन प्रणालीमा सांसदको शपथ ग्रहण नगरी कुनै पनि सदस्य संसदीय दलको नेता वा कार्यसमिति सदस्य हुन नसक्ने भन्दै सांसदको शपथपछि मात्र संसदीय दलको नेताको निर्वाचन गर्न लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संघीय संसद्को पहिलो बैठक यही फागुन २१ गतेका लागि आह्वान गरे । भीष्मराज ओझा

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्