Logo
१२ श्रावण २०८१, शनिबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नगरकोटको भिलेज रिसोर्टमा एमाले–माओवादीको एकता उत्सव

काठमाडौं : एमाले–माओवादी केन्द्र काठमाडौंका जिल्लास्तरीय नेताहरु भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा भेला भएका छन् । पार्टी एकता टुंगोमा पुग्न लागेकै बेला एकता उत्सब र एकतापूर्व आपसी अन्तरघुलन गर्ने उद्देश्यले दुबै पार्टीका १ सय ३६ जना नेताहरु नगरकोटमा भेला भएका हुन् ।

भेला आयोजनाको लागि अग्रसरता लिएका माओवादी केन्द्रका काठमाडौं संयोजक हिमाल शर्माले पार्टी एकताको खुसियाली एबं एकतापछि अन्तरघुलन सहज होस् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए । शर्माका अनुसार भेलामा दुबै पार्टीबाट झण्डै आधा–आधा सहभागिता छ ।

भेलाको प्रमुख अतिथि एमाले बरिष्ठ नेता माधव नेपाललाई बनाइएपनि कार्यव्यस्तताका कारण उनी आजको भेलामा उपस्थित हुन सकेनन् । पूर्व उर्जामन्त्री समेत रहेका माओवादी केन्द्रका नेता जनार्दश शर्मा भने भेलामा सहभागिता जनाएर विहीबार साँझ काठमाडौं फर्केका छन् ।

होलीको समेत अवसर पारेर आयोजना गरिएको भेलामा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, एमाले काठमाडौंका संयोजक एबं काठमाडौं– ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई लगायत काठमाडौंबाट निर्वाचित प्रदेश सभा र प्रतिनिधि सभाका सदस्यहरु सो भेलामा सहभागी भएका छन् ।

नगरकोटको हिलसाइड भिलेज रिसोर्टमा आयोजना गरिएको दुई दिने भेलाको मुख्य उद्देश्य दुई पार्टीका नेता–कार्यकर्ताबीच अन्तरघुलन गराउनु रहेकाले बसोबासको व्यवस्थापनि सँगसँगै गरिएको छ । आपसी सामिप्यता बढाउन दुबै पक्षका कार्यकर्ता रहने गरी कोठाको प्रबन्ध गरिएको छ ।

विहीबार दिउसो फागुसँगै सुरु भएको भेला आपसी परिचयसँग सुरु भएको थियो । कार्यक्रममा दुबै पक्षका सहभागीहरुले आआफ्नो भनाई राखेका थिए । एमाले बरिष्ठ नेता नेपाल उपस्थित नभएपछि प्रमुख अतिथि बनेका शर्माले एकताको सुरुवात कसरी भयो, त्यसबारे जानकारी गराएका थिए ।

 

 

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्