Logo
१२ श्रावण २०८१, शनिबार
(March 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति चयनका लागि संसद् भवन परिसरमा निर्वाचन कार्यालय स्थापना

काठमाडौँ : निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले आज संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

नेपालको संविधान बमोजिम नयाँ राष्ट्रपतिको निर्वाचन गर्न आयोगले पाटन उच्च अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिसकेको छ । आयोगबाट यसअघि नै राष्ट्रपति निर्वाचनको तालिका सार्वजनिक भइसकेको छ । निर्वाचन तालिकाअनुसार मतदाता नामावली प्रकाशन फागुन २१ गते, उम्मेदवारको मनोनयनपत्र दर्ता फागुन २३ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २४ गते र फागुन २९ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन आयोगको फागुन १० गतेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्था बमोजिम राष्ट्रपतिको निर्वाचन फागुन २९ गते गर्ने निर्णय गरेको थियो । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था छ । (रासस)

प्रकाशित मिति: Mar 1, 2018

प्रतिक्रिया दिनुहोस्