Logo
१२ श्रावण २०८१, शनिबार
(March 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन तयारी पूरा (हेर्नुस् ११ तस्विर)

काठमाडौँ : संघीय संसद अन्तरगत प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशनको तयारी पूरा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गत फागुन ८ गते गरेको आह्वानअनुसार आउँदो फागुन २१ गते दिउँसो ४ बजे संघीय संसदको बैठक बस्दैछ । राष्ट्रिय सभा र प्रतिनिधी सभाको बैठक बानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बस्न लागेको हो ।

संसद सचिवालयले आगामी आइतबार दिउसो ४ बजे प्रतिनिधिसभा र साँझ ५ बजे राष्ट्रिय सभाका सांसदहरुको सपथ गराउने कार्यतालिका बनाएको संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए । यसबारेमा दलका प्रतिनिधीहरुलार्ई जानकारी दिइएको उनले बताए ।

बुधबार नयाँ बानेश्वरमा सचिवालयले विभिन्न दलसँग पहिलो अधिवेशन र सपथका बारेमा संसदमा रहेका ५ दलका प्रतिनिधीहरुसँग छलफल गरेको थियो । छलफलमा आफ्नो मातृभाषामा सपथ लिनका लागि सूचना दिन सांसदहरुलाई बिहिबार सम्मको समय दिइएको छ ।

राष्ट्रिय सभा र प्रतिनिधी सभा गरी दुई संसदमा ३ सय ३४ जना सांसद छन् । संघीय संसद सचिवालयले मातृभाषामा सपथ लिन चाहने सांसदहरुलाई भोली विहिबारसम्म निवेदन दिन भनेको छ । सचिवालयका अनुसार यतिबेलासम्म ७ जनाले मातृभाषामा सपथ लिने जनाएका छन् ।

संवैधानिक व्यवस्थानुसार आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले उक्त भाषाबारे जानकारी दिने क्रम जारी छ । संघीय संसद्का सदस्य अनिलकुमार झाले हिन्दी, प्रदीप यादव र हरिनारायणप्रसाद रौनियारले भोजपुरी, मोहमद इस्तियाक राईले अवधी तथा शान्ता चौधरी र गंगा चौधरी सत्गौवाले थारु भाषामा शपथ लिने जानकारी गराएका छन् ।कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको अनुवादको प्रतिसहित तीन दिनअगावै संघीय संसद्को महासचिवलाई उपलब्ध गराउनुपर्ने कानूनी प्रावधान छ ।

संसद बैठकको अघिल्लो दिन फागुन २० गते दुवै सदनका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शीतल निवासमा शपथ लिनेछन् । प्रतिनिधिसभा सदस्यका लागि दिउसो ४ बजे र राष्ट्रियसभा सदस्यका लागि साँझ ५ बजे पद तथा गोपनीयताको शपथ दिने कार्यतालिका छ । दुवै सदनका ज्येष्ठ सदस्यले आफ्नो सभाका सदस्यहरुलाई शपथ दिलाउनेछन् ।

प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय महेन्द्र राय यादव र राष्ट्रियसभामा नेपाली काङ्ग्रेसका ६९ वर्षीया तारादेवी भट्टले सपथ गराँउने छन् । यदवले आफू आफनो मातृ भाषा बज्जिका भाषामा सपथ लिने बताएका छन् ।  उनीहरु सभामुखको चयन नभएसम्मका लागि सभामुखको भूमिकामा रहनेछन् । दलसँग छलफलपछि मात्र संसदको कार्यसूची बनाइने संघीय संसद सचिवालयले जनाएको छ ।

दुवै हलको तयारी पूरा
सचिवालयले दुवै सदनको सभाकक्ष निर्माण, मर्मत र माइक व्यवस्थापनका लागि रु तीन करोड ५० लाख बजेट खर्च गरिरहेको छ । सचिवालयले एक वर्षअघि नै अध्ययन गरी अर्थ मन्त्रालयसँग माग गरेबमोजिम सो रकम निकासा भएको हो । सचिवालयले सिट व्यवस्थापन, माइक प्रणाली व्यवस्थापन, सञ्चार कक्ष, राष्ट्रियसभाका अध्यक्ष उपाध्यक्षको कक्ष र कार्यव्यवस्था परामर्श समितिको बैठक कक्षको व्यवस्थापन गरेको छ ।

राष्ट्रिय सभामा ८० कुर्सीहरु राखिएका छन् भने ३२ माइक राखिएको छ । आवश्यकता अनुसार सिसी टिभी जडान गरिसकिएको छ भने प्रत्यक्ष प्रशारणका लागि ३ वटा क्यामेरा र मास्टर कन्ट्रोल रुमको व्यवस्था गरिएको छ । सांसदहरुका लागि सामान राख्न ५९ वटा कोठा भएको लकर राखिएको छ । सांसदभन्दा पछाडि सिसाको बार राखेर दर्शक र पत्रकार दीर्घा छुट्याइएको छ । राष्ट्रिय सभाको हलको ब्यवस्थापन तयारी पूरा भएको अन्र्तराष्टिय सम्मेलन केन्द्रका इलेक्ट्रिक इन्जिनियर जीवन प्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै प्रतिनिधी सभाका कुर्सी माइक र भुईं मर्मत गरिएको छ । यो सदनमा २ सय ७५ कुुर्सी चाहिनेमा ३ सय ३४ कुर्सी राखिएको छ । दुबै सदनका गरेर ३ सय ८८ सिट राखिएका छन् । दुवै सदन सञ्चालनका लागि सचिवालयसँग हाल ३ सय ५० जनशक्ति कायम रहेको र थप ७५ कर्मचारी पदपूर्तिका क्रममा रहेकाले जनशक्तिको कमी नहुने संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० सदस्य गरी प्रतिनिधिसभा २ सय ७५ सदस्य रहेका छन् । गत मंसिर १० र २१ मा प्रतिनिधिसभा र गत माघ २४ मा राष्ट्रियसभा सदस्यको निर्वाचन भएको थियो ।

तर  राष्ट्रियसभामा मनोनीत सदस्य डा.युवराज खतिवडा, रामनारायण बिँडारी र डा. विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वोच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उनीहरुको शपथ नहुने भएको छ । अघिल्लो सरकारले मनोनयन गरेकालाई फिर्ता गरी नयाँ सरकारको सिफारिशमा नयाँ सदस्य मनोनयन भएका विषयमा सर्वोच्चमा रिट निवेदन परेको थियो । फौजदारी मुद्दा लागेका प्रतिनिधिसभा सदस्य रेशम चौधरी र किर्ते प्रकरणमा फौजदारी अभियोगका अभियुक्त नवराज सिलवालबारे कुनै निकायबाट लिखित केही जानकारी नआएकाले उनीहरु आएमा शपथ लिन सक्ने गौतमले बताए ।

प्रकाशित मिति: Mar 1, 2018

प्रतिक्रिया दिनुहोस्