Logo
११ श्रावण २०८१, शुक्रबार
(March 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होलीको ‘मुड’ मा युवापुस्ता : फागुको मौलिकता हराउँदै

बागलुङ : वसन्त ऋतुको रमाइलो पर्व फागु (होली) को उल्लास हिमाली र पहाडी जिल्लामा बिहानैबाट छाएको छ ।बागलुङ पनि होलीको रमझमबाट अछुतो छैन । रङको पर्व भनेर चिनिने होलीको उत्साह सर्वत्र छाएको छ । विशेष गरी युवापुस्ता होलीको ‘मुड’ मा देखिन्छन् । पसलमा रङ, खेलौना, होलीमैत्री पोशाक किन्नेको भीड छ । पर्वको छेकोमा विभिन्न संघसंस्थाले मेला, उत्सव आयोजना गरेका छन् । होलीलाई मर्या cदित बनाउन सुरक्षा प्रबन्ध मिलाइएको छ ।

प्रेम र भाइचाराको प्रतीक मानिने होली पर्वको असर शहर हुँदै गाउँसम्म पुगेको छ । होलीलाई विशेष गरी शहरी युवाले धुमधामसँग मनाउने गरेका छन् । हिन्दू परम्परामा प्राचीन पर्वको ठाउँ ओगटेको होली एकापसमा रङ खेलेर मनाउने चलन छ । आधुनिकताले पर्वको मौलिकतामा ठेस नपुगेको पनि होइन । तर पनि, होली मान्ने प्रवृत्ति र उल्लास भने वर्षेनी थपिँदो छ । संस्कृतिकर्मी प्रेम छोटाको अनुभवमा होलीको असली रुप फेरिँदै गएको छ । “आधुनिकताले केही अन्तर पारेको छ, मौलिकता ओझेलमा छ” छोटाले भन्नुभयो ।

होली पर्वलाई जगेर्ना गर्ने नयाँपुस्ताको आफ्नै शैलीप्रति भने छोटा पनि सन्तुष्ट हुनुहुन्छ । पर्वमा गरिने तडकभडक र अबाञ्छित क्रियाकलापलाई रोक्नुपर्ने उहाँको सुझाव छ । होलीलाई परम्परागत शैलीमै मनाउन नसके पनि पहिचानलाई मर्न नदिने नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । खलले वर्षौंदेखि फागु पर्वलाई संस्थागत रुपमा मनाउँदै आएको छ । “बीचमा हराएको चलनलाई यसपालि हामी जोड्दैछौँ, मौलिकता जोगाउने हाम्रो ध्येय छ” अध्यक्ष राजभण्डारीले भन्नुभयो ।

फागुमा पुजिने भगवानलाई भोक दिने, पूजाआजा गर्ने, फागुको गीत गाउँदै फर्कने चलन पछिल्लो समय हराएको थियो । पुरानै परम्पराअनुसार यो वर्ष बागलुङ भगवती मन्दिर र गणेश मन्दिरमा भोकसहित विशेष पूजाआजा गरिने भएको छ । पूजाआजापछि बागलुङ नगरपालिका–३ नौबिसेटोलको भोटे बारीमा सामूहिक भोज हुने अध्यक्ष राभजण्डारीले बताउनुभयो ।
यो वर्ष पनि ‘डिजे लाइभ कन्सर्ट’ सहित होली मनाउने तयारीमा बागलुङका युवा छन् । हिन्दू संस्कृतिमा होली पर्वलाई भगवान् विष्णुका परम भक्त प्रह्लादसँग जोडेर हेर्ने गरिन्छ । त्रेता युगमा हीरण्यकश्यपका पुत्र प्रह्लादलाई उनकी फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा आफैँ आगोमा भष्म भएको दिनदेखि होली पर्व शुरु भएको किंवदन्ती छ ।

पछिल्लो समय होली अमर्यादित बन्दा कतिपय अकल्पनीय घटनासमेत घट्ने गरेका छन् ।  सीमा र मर्यादाभित्र बसेर होली पर्व मनाउन स्थानीय प्रशासनले आग्रहसमेत गरेको छ । होलीका बेला उच्छृंगल गतिविधि हुन नदिन विशेष सुरक्षा निगरानी बढाइएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो । (रासस)

प्रकाशित मिति: Mar 1, 2018

प्रतिक्रिया दिनुहोस्