Logo
१२ श्रावण २०८१, शनिबार
(February 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय संसद्को बैठक तयारी पूरा : दौरा-सुरुवाल हैन, आफनै पहिरन लगाँछु : यादव

काठमाडौं : नयाँ संरचाना अनुसार संघीय संसदको पहिलो बैठकको सबै तयारी पुरा भएको छ । औपचारिक रुपमा पहिलो बैठक बस्नु अघि नव निर्वाचित संसदहरुले सपथग्रहण गर्नुपर्नेहुन्छ । संघीय संसदको पहिलो बैठक बस्नुअघि २० गते प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरुको शपथग्रहण कार्यक्रम तय गरिएको छ । बुधवार संघीय संसद सचिवालयले बैठकबारे जानकारी दिन संसदमा प्रतिनिधित्व गर्ने पाँचदलसंग बैठक गरेका छन् ।

संघीय संसद सचिवालयको आयोजनामा बुधबार बसेको बैठकले अन्तरिम कार्यविधिका विषयमा छलफल गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसदमा दिउँसो बसेको बैठकमा २१ गते बस्ने संसद बैठकको कार्यसूची, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सञ्चालनका लागि संसद सचिवालयले तयार गरेको अन्तरिम कार्यविधि तथा संघीय संसद सचिवालय व्यवस्थापनको विषयमा छलफल भएको सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए । संसद सचिवालयले तयार गरेको अन्तरिम कार्यविधिको मस्यौदा अध्यययनका लागि दलका नेताहरुलाई वितरण गरिएको र त्यसको अध्ययनपछि पुनः २० गते बैठक बसेर त्यस विषयमा निर्णय गर्ने उनले जानकारी दिए ।

महेन्द्रराय यादवले शपथग्रहण गराउने
बुधवार बसेको पहिलो सर्वदलीय बैठकको अध्यक्षता भने प्रतिनिधिसभाको जेष्ठ सदस्य महेन्द्रराय यादवले गरेका छन् । बैठकमा नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ, भानुभक्त ढकाल र शेरबहादुर कुँवरको सहभागिता थियो । त्यस्तै, माओवादी केन्द्रबाट कृष्णबहादुर महरा, देव गुरुङ र दीनानाथ शर्मा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल, तारादेवी भट्ट र डिला संग्रौलाको सहभागिता थियो । त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालबाट यादव समेत लक्ष्मणलाल कर्ण र वृषेशचन्द्र लाल संघीय समाजवादी फोरमबाट उमाशंकर अरगरिया र प्रदिप यादवको सहभागिता थियो ।

त्यसकालागि प्रतिनिधिसभा र राष्ट्रियसभाका ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोहिदिन पहिले नै शपथ लिनेछन् । सोपछि ज्येष्ठ सदस्यले दुवै सभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको सचिवालयले बताएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका महेन्द्रराय यादव र राष्ट्रियसभाका लागि ज्येष्ठ सदस्य कांग्रेसकी तरादेवी भट्टले पहिले शपथ लिनेछन् ।

मातृभाष र आफनै पहिरन लगाँछु : यादव
यसैबीच जेष्ठ सदस्यको हैसियत सभामुखको आसनबाट सबै सांस्दहरुलाई सपथग्रहण गराउने तयारीमा रहेको यादवले आफनो मातृभाषा बजिका भाषामा सपथ लिने बताए । जनता पोष्टसंगको प्रतिकृयामा उनले सभामुखले दौरा–सुरुवाल लगाउने प्रचलन रहेता पनि आफूले आफ्नो समुदायिक पहिरण लगाउने बताए । नियममै भएको सुविधा अनुसार मैले आफनो मातृ भाषा र आफनै भोषभूषाको समुदायिक पोषाक लगाउने छु’ उनले भने ‘दौरा सुरुवाल लगाउनै पर्छ भन्ने छैन, दौरा सुरुवाललाई म सम्मान गर्छु तर मलाई मेरो आफनै पोषाकको पनि उतिकै माया छ । म आफ्नै सदाबाहार पोषाक लगाउनेछु’ ।

यसअघि सर्वदलीय बैठकमा जेष्ठ सदस्यको हैसियतले अध्यक्षता गरेका यादव कुर्ता पाइजामा र कोट लगाएर गएका थिए । संसद सचिवालयका कर्मचारी र अन्य दलका नेताले सभामुखको आसनमा बस्दा दौरा सुरुवाल लगाउनुपर्ने बताएका थिए । तर यादवले भने दौरा सुरुवालप्रति अरुची देखाएका थिए । ‘सभामुखको आसनमा बस्दा चाहिँ दौरा सुरुवाल लगाउनुपर्छ यो परम्परा पनि हो भन्दा उहाँले किन लाउने भनेर प्रश्न गर्नुभयो’ बैठकका एक सहभागी एक नेताले बताए । त्यस्तै सभामुखले नेपाली भाषामै बैठक सञ्चालन गर्नुपर्छ भन्दा पनि उनले किन नेपालीमै बोल्ने ? भन्ने शैलीमा प्रश्न गरेको उक्त नेताले बताए ।

८० वर्षीय यादवको ६३ चर्चा
बुधवारको बैठकमा उमेर प्रसङ्गले पनि राम्रै स्थान पायो । १६४ जना नव निर्वाचित सांसदहरुलाई सपथग्रहण गराउने तयारीमा रहेका यादवले वास्तवमा आफू ८० वर्षिय नभई ६३ वर्षीय भएको बताए । ‘अव नागरिक्तामा जे छ त्यसैलाई आधार मान्नै परियो, खासमा मेरो उमेर मात्र ६३ वर्ष हो तर के गर्नु उहिले यसरी नै नागरिक्ता बनाइयो ।’ यादवले भने ‘नियम अनुसारले त यही उमेर मान्ने परियो नी नागरिक्तामा जे छ, त्यही न आधिकारिक हा ।’ उनले भने ‘मेरो जन्म विसं. २०११ साल असार १५ गते भएको हो । तर, नागरिकता बनाउने बेला १७ वर्ष बढाएर बनाइदिएका कारण उनी ८० वर्षका हुन पुगेका छन् । त्योबेलामा यसलाई परिवर्तन गर्न निकै प्रयास गरियो तर नागरिक्ता नै पाइयो त्यही ठुलो कुरा हो भन्ने सम्मको जवाफ आए, यसैलाई आधिकारिक मान्न बाध्य छौं’ ।

मातृभाषामा सपथ लिनेले निवदेन दिनुपर्ने
संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमकाअनुसार मातृभाषामा समेत सांसदहरुले शपथ लिने ब्यवस्था मिलाइएको छ । तर त्यसकालागि १७ गतेसम्म निवदेन दिने समयसीमा तोकिएको बताए । मातृभाषामा शपथ लिन चाहने सांसदले सचिवालयमा निवेदन दिएर त्यसलाई उल्थागरी उपलब्ध गराउनुपर्ने हुन्छ ।

अहिलेसम्म हिन्दी, बज्जिका, मैथली, भोजपुरी, थारु भाषाको गरी १० जना सांसदले निवेदन दिएको उनले बताए । प्रवक्ता गौतमका अनुसार सबै राष्ट्रिय दलका प्रतिनिधि सांसदहरुलाई सचिवालयले तयार गरेको अन्तरिम कार्यविधिको मस्योदा अध्ययनकालागि वितरण गरिएको र अध्ययनपछि २० गते पुनः बस्ने बैठकमा त्यसको निर्णय हुनेछ ।

रेशम चौधरीलाई पनि सपथ गराउन माग
यसैबीच, राष्ट्रिय जनता पार्टी नेपालले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ लिने व्यवस्था गर्न माग गरेको छ । पार्टीका नेता वृशेषचन्द्र लालले सांसद चौधरीलाई सपथ लिने र संघीय संसदको कामकार्बाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरेका हुन् । आउदो आईतबार संघीय संसदमा निर्वाचित सदस्यहरुले सपथ लिँदै छन् ।

सोही विषयमा समेत छलफल गर्न संघीय संसद सचिवालयले बुधबार बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालले सांसद चौधरीलाई सपथ लिने र संसदको काम कार्बाहीमा भाग लिन पाउने व्यवस्था गर्न माग गरेको हो । जनताबाट निर्वाचित सांसद चौंधरीलाई सपथ लिने र संसदको कामकार्वाहीमा भाग लिने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरिएको नेता लालले जानकारी दिए ।

कैलालीको टिकापुर हत्याकाण्डको योजनाकार भनिएका प्रतिनिधिसभाका सांसद चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै जिल्ला कारगार चलान गरिएको छ । राष्ट्रिय जनता पार्टी, नेपालले आफ्ना सांसद चौधरीलाई सुरक्षाको उचित प्रबन्ध गरी सपथ गराउने व्यवस्था गर्न संघीय संसदसँग माग गरेको हो । सांसद चौधरीले पनि आफूलाई सपथ ग्रहण गराउने व्यवस्था गर्न माग गर्दै पार्टीमार्फत् संघीय संसद सचिवालयमा निवेदन दिइसकेका छन् ।

प्रकाशित मिति: Feb 28, 2018

प्रतिक्रिया दिनुहोस्