Logo
५ जेष्ठ २०८१, शनिबार
(February 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरमले मुख्यमन्त्री र राजपाले सभामुख लिने सहमती (सम्झौता-पत्रसहित)

काठमाडौं : प्रदेश नम्बर २ को सरकार बनाउन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी सहमत भएको छ । यी दुई दलबीच भएको बैठकमा मुख्यमन्त्री फोरमले र सभामुख राजपाले लिने सहमती भएको छ । फोरम नेता प्रदिप यादवका अनुसार काठमाडौं स्थित फ़ोरम नेपालको कार्यालय तिनकुनेमा बसेको दुई पार्टीको संयुक्त बैठकले उक्त शनिवार उक्त सहमती गरेको हो ।

फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले समझौता पत्रमा हस्ताक्षर समेत गरेका छन् । समझौता पत्रमा सरकारबारे अन्य कुरा खुल्लाएको छैन । यसअघि राजपाले आलोपालो सरकारको कुरा गरेको थियो । दुईपार्टीबीच भएको सहमतिअनुसार ५ वर्षका लागि मुख्यमन्त्री संघीय समाजवादी फोरम नेपालले नै चलाउने भएको छ ।सहमतिको जानकारी दिँदै पर्साका सांसद प्रदीप यादवले भने, ‘यो सहमति ५ वर्षका लागि भएको हो, मधेसी गठबन्धनलाई जनताले जिताएर पठाएको थियो, त्यही म्यान्डेटअनुसार सरकार बनाउने सहमति भएको छ ।’ जनकपुरमा बसेको बैठकमा राजपाले सरकार आलोपालो चलाउने भनेपछि यसअघि सहमति हुन सकेको थिएन ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका महन्त ठाकुरद्वारा हस्ताक्षर गरिएको सहमति पत्रअनुसार मुख्यमन्त्री र उपसमामुखसहित आन्तरिक मामिला (गृह) तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र अर्थ तथा योजना मन्त्रालय संघीय फोरम नेपालको भागमा परेको छ । यसैगरी राजपाको भागमा सभामुखसहित भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रलाय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेका छन् ।

एक मात्र मधेसी बाहुल प्रदेश नम्बर दुईमा मधेसी गठबन्धनले बहुमत सिट जितेका छन् । प्रदेशसभाको प्रत्यक्ष ६४ सिटमध्ये मधेसी गठबन्धन (संघीय समाजवादी फोरम २० र राष्ट्रिय जनता पार्टी १५) ले ३५ सिटमा विजयी हासिल गरेका छन् । वाम गठबन्धनले (एमाले १२ र माओवादी केन्द्र ७) १९, कांग्रेसले ९ र एक सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् । प्रदेश २ मा ७३ समानुपातिक सिट छ । समानुपातिकसहित फोरमको २९ र राजपाले २५ सांसद पाएको छ ।

१ सय ७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसद चाहिन्छ । मधेसी गठबन्धनले कांग्रेस र वाम गठबन्धनको सहयोग बिना नै सरकार बनाउन सक्छन् । विगतमा आन्दोलनका बेला मात्र मिल्ने आरोप लागिरहेको बेला अघिल्लो निर्वाचनमै गठबन्धन बनाएर मधेसी जनतामाझ आएपछि पाएको सफलताले मधेसी गठबन्धनका नेता उत्साहित देखिएका थिए । निर्वाचनमा पाएको जनादेशकै आधारले मधेसी गठबन्धनले प्रदेश नम्बर दुईमा सरकार पनि गठन गर्ने सहमति गरेको सांसद यादवले बताए ।

फोरम नेपालले पाउने मन्त्रालयहरू :
१-मुख्यमन्त्री
२- उप सभामुख
३-आन्तरिक मामला (गृह) तथा कानुन मन्त्रालय
४-भुमि बयवस्था कृषी तथा सहकारी मन्त्रालय
५- अर्थ तथा योजना मन्त्रालय

राजपाले पाउने मन्त्रालयहरू :
१-सभामुख
२-भौतिक पुर्बाधार मन्त्रालय
३-उधोग पर्यटन,वन तथा बताबरण मन्त्रालय
४-समाजिक बिकाश मन्त्रालय

समझौता पत्र :

प्रकाशित मिति: Feb 10, 2018

प्रतिक्रिया दिनुहोस्