Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा २ सय ५० उद्योग बन्द

पर्सा : भारतीय तयारी चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्सा र बाराका २ सय ५० चामल उद्योग बन्द भएका छन् । एक वर्षयता केही उद्योगले भारतबाट चामल ल्याएर आफ्नो ब्रान्डका बोरामा प्याक गरी बजारमा पठाउन थालेपछि आफैं चामल उत्पादन गर्ने उद्योगहरू झन् समस्यामा परेका छन् । स्वदेशी धानले चामल उद्योगको माग धान्न नसक्ने अवस्थामा भारतबाट धान आयात गर्नुपर्ने बाध्यता रहेको तर भारतबाट धानको साटो चामल बढी आयात भएकाले यहाँका चामल उद्योग संकटमा परेका हुन् ।

प्रसौनीस्थित राइस मिल व्यवसायी विनय साह ७ वर्षअघिसम्म पर्सा बारामा करिब ३ सयको संख्यामा रहेका चामल उद्योगमध्ये २ सय ५० बन्द भइसकेका बताउँछन् । हाल ४०/५० मा सीमित भएका चामल उद्योगमध्ये पनि आधाजसो संकटग्रस्त भएर बन्द हुने अवस्थामा रहेको उनले बताए ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा वीरगन्ज नाकाबाट झन्डै १ अर्ब रुपैयाँको चामल आयात भएको छ । भन्सार तथ्यांकअनुसार ९९ करोड ८१ लाख रुपैयाँ बराबरको १ करोड ९८ लाख किलो चामल आयात भएको छ । गत आवको यसै अवधिमा ८८ करोड ८३ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख किलो चामल यो नाकाबाट आयात भएको थियो । तुलनात्मक रूपमा झन्डै २३ लाख किलोभन्दा बढी चामल चालु आवमा आयात भइसकेको छ ।

२ वर्षअघि ६ महिना लामो बन्द हडतालमा ७ अर्ब रुपैयाँभन्दा बढीको नोक्सान व्यहोरेका यहाँका चामल उद्योगले बन्द हडतालपछि पनि धान अभाव र लोडसेडिङजस्ता समस्या व्यहोर्नुपरेको मोहित एग्रो इन्डस्ट्रिजका व्यवस्थापक एवं वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।

भारतबाट तयारी चामल आयात गर्दा भन्सारले कृषि सुधार शुल्क ८ प्रतिशत मात्र लिन्छ । चामल उद्योगीहरूले यो शुल्क ८ बाट बढाएर १० प्रतिशत गर्नुपर्ने माग लामो समयदेखि गर्दै आएका छन् । तर, भारतबाट धान आयात गर्दा पनि भन्सारले ५ प्रतिशत कृषि सुधार शुल्क लिने हुँदा आफूहरू दोहोरो मारमा परेको उद्योगीहरूको गुनासो छ । चामलको भन्सार शुल्क बढाउन नसके धानको भन्सार शून्य गरिदिए सस्तो धान प्रयोग गरेर चामल उत्पादन गर्दा कम्तीमा भारतीय चामलसँग प्रतिस्पर्धा गर्न सक्ने उनीहरूको भनाइ छ ।

संकटमा रहेको नेपाली चामल उद्योगलाई तेस्रो मुलुकमा नेपाली बासमती चामलको निर्यातको बाटो खुला गर्नुपर्ने माग चामल उद्योगीहरूले लामो समयदेखि गर्दै आएका छन् । यसले नेपाली बासमतीले विश्वव्यापी रूपमा बजार विस्तारसँगै पहिचान स्थापित गर्ने दाबी उनीहरूको छ । यसरी रुग्ण रहेका स्वदेशी चामल उद्योगले नयाँ जीवन पाउने र किसानलाई पनि ठूलो लाभ हुने उनीहरूको धारणा छ । सरकारले हालसम्म सबैखाले चामलको भारत तथा तेस्रो मुलुकको निर्यातमा रोक लगाएको छ । उद्योगी गुप्ता उपभोक्ताले अत्यन्त रुचाएको नेपाली रातो बासमती चामलले तेस्रो मुलुकमा निकासीको अवसर पाए त्यसले किसान र उद्योगी दुवैलाई ठूलो लाभ मिल्ने बताउँछन् ।

भारत र पाकिस्तानले विश्वव्यापी रूपमा कम गुणस्तरीय बासमती चामलको निकासी गरेर अन्तर्राष्ट्रिय बजारमा एकछत्र साम्राज्य खडा गरेकाले नेपाली बासमतीले उनीहरूलाई टक्कर दिन सक्ने गुप्ता दाबी गर्छन् । भारतले जस्तै नेपालले पनि बासमती चामलको निर्यात खुला गरे यसले स्वदेशी चामलले अन्तर्राष्ट्रिय बजारमा राम्रो पकड जमाउने गुप्ता दाबी गर्छन् । एकपटक नेपाली रातो बासमतीको स्वाद लिइसकेका उपभोक्ताले भारतीय तथा अन्य बासमती चामल नरुचाउने पनि उनको दाबी छ । स्वदेशी ५० तथा पर्सा बारा औद्योगिक करिडोरका १० चामल उद्योगले हाल विश्वस्तरीय बासमती चामल उत्पादन गरिरहेको गुप्ता बताउँछन् ।

चामल उद्योगले धान कुटेपछि निस्कने धानको बोक्रालाई यहाँस्थित करिडोरका उद्योगहरूलाई बिक्री गरेर पनि थोर बहुत आम्दानी गर्दै आएकामा पछिल्लो समय भारतबाट यस्तो बोक्रा भित्रिन थालेपछि समस्या झनै बढेको छ । यस्तो धानको बोक्रा उद्योगहरूले आफ्नो ब्वाइलर मेसिन तताउन प्रयोग गर्छन् । प्रतिकिलो ७ रुपैयाँमा बिक्री हुने यस्तो भुस पनि भारतबाट भित्रिने गरेको छ । हाल भारतबाट दैनिक ३/४ लरीमा यस्तो भुस आयात भइरहेको छ । भन्सार प्रक्रिया पूरा गरी भित्रिने भुस करिडोरका उद्योगहरू पुग्छन् । नेपालीभन्दा केही सस्तो मूल्य हुने भएकाले उद्योगहरूले पनि भारतीय भुस खरिद गर्छन् ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्