Logo
२२ बैशाख २०८१, शनिबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषकहरुले अब ‘रोल्पा ब्राण्ड’ को स्याउ उत्पादन

रोल्पा : नेपालको मुस्ताङ (मार्फा) र जुम्लाको स्याउको ब्राण्डको चर्चा हुने गरे पनि रोल्पाको स्याउको चर्चा भने कतै नभएको भन्दै स्थानीय कृषकहरुले अब ‘रोल्पा ब्राण्ड’ को स्याउ उत्पादन गर्ने बताएका छन् । स्याउ उत्पादन भइरहेको रोल्पाको थबाङ, कुरेली, जिनाबाङ, मिरुल लगायतका क्षेत्रका स्याउको एउटै रोल्पाली पहिचान झल्किने गरी व्यवस्थापनको तयारी भइरहेको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए ।

रोल्पामै उत्पादित स्याउलाई बजारमा लगेर भारत वा नेपालकै कुनै चर्चामा रहेको ठाउँको नाम दिएर रोल्पाको स्याउ बेचिरहेको र त्यसलाई रोक्न पनि रोल्पाको आफ्नै पहिचान आवश्यक रहेको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले बताए । स्याउ उत्पादन सम्बन्धि विज्ञहरुसहितको तालिम जिल्लाको विभिन्न ठाउँमा आयोजना गरिएको छ ।

कोही कृषकलाई सदरमुकाममै बोलाएर र कुनै ठाउँमा आफै पुगेर स्थानीय तहसँगको सहकार्यमा तालिम दिइएको जिल्ला कृषि विकास कार्यालय रोल्पाका प्रमुख लालकुमार श्रेष्ठ बताउँछन् । कुरेलीमा स्याउ बगैचामै उभ्याएर कृषकहरुलाई तालिम दिइएको छ । स्याउ बगैचा व्यवस्थापन सम्बन्धी चारदिनसम्म सञ्चालित उक्त तालिममा मुस्ताङबाट बासुदेव पौडेल र तारापति ज्ञवाली सम्मिलित विज्ञ टोलिले प्रशिक्षण दिएका थिए ।

आफूले पहिल्यैदेखि स्याउ खेती गर्दै आएको बताउने कुरेलीका ज्योतिप्रसाद रोकाले द्वन्द्वका समयमा स्याहार गर्न नसकेका कारण विस्तार गर्न नसकेको बताउँछन् । स्याउकै काम सिक्न इन्डिया गएको सम्झना गर्दै उनले अहिले २ हजार बढि स्याउ खेती गरिरहेको बताए । यसअघि २ क्वीन्टल बन्दा गोबी उत्पादन गरेको तर विक्रि हुन नसकेका कारण आफू निरास भएको कृषक ज्योतिप्रसाद रोका बताउँछन् ।

बजार व्यवस्थापनको समस्यालाई निराकरण गर्न गाउँपालिका तथा सरोकारवाला निकायहरुले पहल गर्नुपर्ने स्थानीय लिलबहादुर रोका बताउँछन् । कुरेलीका कृषकहरुले स्याउ खेतीलाई परिणाममुखी बनाउन स्याउ बगैचा व्यवस्थापन अभियाननै थालेका छन् । गाउँमा उत्पादित स्याउलाई बजार व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्