Logo
३१ बैशाख २०८१, सोमबार
(January 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिचिएको भनिएको सीमाबारे बुझ्न सर्वेक्षण टोली वीरगञ्जमा

वीरगञ्ज : नेपालको लगभग ५० बिगाहा जमिन सीमा स्तम्भ मर्मतका क्रममा भारतमा परेको सार्वजनिक भएलगत्तै नापी विभागको एक टोली वीरगञ्ज आइपुगेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले प्राविधिक रुपमा नक्सांकन मिले/नमिलेको अध्ययन गर्नकै लागि नापी विभागका निर्देशकसहितको टोली वीरगञ्ज आइपुगेको जानकारी दिए । नापी विभागका निर्देशक अनिल मरासिनी नेतृत्वको टोली मिचिएको सीमाको सत्य–तथ्य बुझ्न वीरगञ्ज आइपुगेको हो ।

नेपाल-भारत सीमा सर्वेक्षण टोलीका लिडर एवं प्रमुख नापी अधिकृत रमेश ज्ञवाली प्राविधिक कुराहरु नबुझेकै कारण पिलर निर्माणको क्रममा समस्या देखिएको बताउँछन् । उनले नयाँ सीमा स्तम्भ गाड्ने क्रममा यस्ता समस्याहरु यसअघि पनि आएको बताए । उनले त्यस्ता जग्गा धनीका लागि राज्यले के गर्छ भन्ने बारेमा भने अनविज्ञता व्यक्त गरे ।

नेपाल र भारतबीच उच्च स्तरीय सहमतिबाट सीमा क्षेत्रमा हराएका र क्षतिग्रस्त पिल्लर निर्माण र मर्मतको क्रम चलिरहेको छ । नेपालतर्फ सर्वे विभागको टोलीले काम गरिरहेको छ भने भारतमा एसएसबीले निर्माणको जिम्मा पाएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाँ क्षेत्रमा मात्रै १२ जना भन्दा बढीको नम्बरीसहित झण्डै ५० विगाहा जमिन मिचिएको स्थानीयको दावी छ ।

मुख्य पिलर नम्बर ३९१ र ३९२ रहेको उक्त क्षेत्रमा ३९२ नम्बर मुख्य पिलरको सहायक पिलर निर्माणको क्रममा नेपाली नम्बरी, ऐलानी र पर्ती जग्गा भारततर्फ परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार पिलर नम्बर ३९२ को ६, ७ र ८ तथा २६ देखि २९ नम्बरको सहायक पिलर निर्माणको क्रममा खेलकुद मैदानसहित नेपालको भाग भारतमा पर्न गएको छ ।

वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा एक्कासि पिलर गाड्न थालेपछि स्थानीय रवीन्द्र महतो कोइरी र वीरगञ्ज महानगरपालिका–१ को वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय पर्सामा रोक्का गरीपाऊँ भनी गत पुस ३० गते निवेदन दिएका थिए । वडा कार्यालयले सीमा स्तम्भ गाड्ने क्रममा नेपालको जग्गा तथा व्यक्तिगत नम्बरी जग्गामा समेत पिलर गाडिएकाले पिल्लर नं ३९१ सुन्दरपुर र ३९२ भकुवा ब्रम्हदेखि रामजानकी मन्दिरसम्मको नयाँ पिलर निर्माण कार्य तत्काल रोक्का गरी नेपालको भूभाग छुट्याएर पिल्लर गाड्ने व्यवस्था मिलाउन भनेको थियो । सोही आधारमा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा पिल्लर जडानको काम रोकिएको हो ।

प्रकाशित मिति: Jan 20, 2018

प्रतिक्रिया दिनुहोस्