Logo
२० बैशाख २०८१, बिहीबार
(January 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसमा चिसोको कम्पन : न दाउरा छ, न ओढ्ने सिरक !

भैरहवा : कानुनमा नै प्रत्येक नागरिकको गाँस, बाँस र कपासको ग्यारेण्टी गरिएको छ । तर, जाडोयाम सुरु भएसँगै मधेसमा गरीबको जीवन कहालीलाग्दो बन्छ । मधेसका गरीबको पीडा यस्तो छ कि आगो ताप्नलाई उनीहरुसँग न त दाउरा छ न त राति सुत्नलाई प्रयाप्त सिरक नै । घरमा भएका एक/दुई वटा तन्ना र कपास हालेर घरमै बनाएको कम्बल ओढेर परालमा सुत्न बाध्य छन् । परालमै खाना पकाउँछन् र परालकै आगो ताप्छन् उनीहरु । जाडोमा वितरण हुने राहात वास्तविक पिडितसम्म नपुग्दा दिनप्रतिदिन बढेको शितलहरले उनीहरु जनजिवन कष्टर बन्ने गरेको छ । मुलुकमा चिसो कारण ५० भन्दा बढी नागरिकले अनकाहमा आफ्नो ज्यान गुमाइसकेका छन् ।

यस्तै रुपन्देही जिल्लाको ग्रामिण क्षेत्रहरुमा पनि गरिबहरुको कहालीलाग्दो अवस्था त छदैछ जिल्लाको सदरमुकाम सिद्धार्थनगर नगरपालिकामा (भैरहवा) समेत गरिबहरुको अवस्था दयनिय रहेको छ । सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ११ स्थित हरिजन टोलमा १० घरधुरी परिवार छ । जुन परिवार अहिले परालको आगो तापेर जाडो मौसम कटाउँन बाध्य छन् । केही घरधुरीमा सुत्नका लागि खाट छ भने केही घरधुरीमा खाट समेत नहुदाँ जाडोयाममा उनीहरु पराल ओछयाएर भुईमा सुत्न समेत बाध्य छन् । अधिकांश घरमा एउटा कम्बल मात्र छ । कम्बल नपुग्ने परिवारका सदस्यहरु पराल ओछ्याएर भुईमै जसो तसो पराल र तन्ना आढेर सुत्छन् । सबै परिवार मजदुरी गरेर आफ्नो गुजारा चलाउने गरेका छन् ।

जाडोमा कसरी खान्छौँ , कसरी सुत्छौँ त्यो त हामीलाई नै थाहा छ स्थानिय त्रिभुवन हरिजनले भने के गर्ने चोरी गर्न जानु भएन एक/दुई वटा तन्ना छ त्यसैमा गुजारा चलाइरहेका छौँ । उनले जिल्लामा विभिन्न संघसंस्थाद्धारा राहात वितरण भएको सुनिएपनि हरिजन टोलले कुनै किसिमको राहात नपाएको बताए । उनी भन्छन् राहात वितरण भएको सुनिन्छ तर हालसम्म हामीले यस्तो जाडो आगो ताप्नका लागि काठको एउटा मुढा समेत पाएका छैनौँ कम्बल त टाढाको कुरो हो ।

उनले थपे हेर्नुस यस्तो चिसोमा हाम्रो बालबच्चाहरु चिसोले कठ्याङग्रिदैछन् तर नगरपालिका/सरकारलाई कुनै वास्ता छैन । आगो तप्नका लागि हामीसगँ न काठ छ न राति ओढ्नलाई सिरक नै । यही (देखाउँदै) परालको आगो तापेरै जाडो कटाइरहेका छौँ । स्थानिय, प्रतिनिधी र प्रदेश चुनाव पश्चात पनि टोलमा केही सुधार नभएको उनले गुनासो पाखे । मत माग्ने बेलामा नेताहरु सबै सहयोग गर्ने आश्वासन दिएपनि हालसम्म कुनै नेताले केही सहयोग नगरेको बताए ।

त्यस्तै यो जाडोमा सोही टोलका बंसिधर हरिजनलाई आफ्नो परिवारको गुजारा चलाउन धौ धौ परेको छ । ३ वटा स सना छोरी एक सानो छोरा रहेको हरिजन परिवारमा चिसो मौसमा न्यानो नपाउने गरेको कारण बच्चाहरु विरामी पर्ने गरेको बताउँछन् । उनी सम्झिदै भन्छन ३ वर्ष अघि कम्बल वितरण हुदाँ पाएका थियौँ त्यसपछि राहातको नाममा आज सम्म केही पाएका छैनौँ ।

त्यस्तै स्थानिय बर्खु हरिजनले नगरपालिका/सरकारले प्रत्येक नागरिकसगँ कर लिने गरेपनि जाडोयाममा कुनै सहयोग नगरेको दुःखेसो पोखे । उनले भने शहरमा सबै पैसावाल छन् उनीहरुको गुजारा त चलेकै छ । हामी बिहान गरेर साँझ खाने मान्छे हाम्रो त्यस्तै छ । कसैलाई केही मतलब छैन । नगरपालिकामा रहेपनि हामी भोट बैंकको रुपमा मात्र रहेको आभास भएको छ ।

सोही टोलमै बस्छिन् वड नम्बर ११ की वडा सदस्य सुभावती हरिजन । वडा सदस्यमा निर्वाचित भएपनि उनको अवस्थामा पनि उस्तै छ । उनले नगरपालिकाको अन्य वडामा दाउरा वितरण भएपनि आफ्नो वडाको हरिजन टोलमा दाउरा वितरण नभएको बताइन् । यता सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले गरिब लक्षित बस्ती एवम मुख्य चोक चोकमा न्यानो हुनका लागी आगो ताप्ने व्यवस्था गरिएको दावी गरे ।

उनले तत्काल कम्बल लगायत न्यानो कपडा बितरण गर्ने अवस्था नरहेको बताउदै नगरवासीलाई चिसोबाट जोगाउन दाउराको व्यवस्था गरिएको बताए । परिषद भई सकेको र आफुहरु नया भएको कारण यस्तो बिपद व्यवस्थापनमा आवश्यक बजेट बिनियोजन नभए पनि भविष्यमा यस तर्फ गम्भिर रुपमा लाग्ने उनले बताए ।

प्रकाशित मिति: Jan 15, 2018

प्रतिक्रिया दिनुहोस्