Logo
७ जेष्ठ २०८१, सोमबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश प्रमुख नियुक्ति गर्न निर्वाचन आयोगको ताकेता

काठमाडौं : निर्वाचन आयोगले प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई ताकेता गरेको छ । आयोगले राष्ट्रियसभाको निर्वाचन मिति घोषणा भई निर्वाचन कार्यतालिका समेत प्रकाशित भइसकेको अवस्थामा प्रदेश प्रमुख नियुक्तिका लागि आग्रह गरेको हो । आयोगले पत्रमार्फत सरकारसँग यस्तो आग्रह गरेको हो ।

आयोगले प्रदेशसभा सदस्यको निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने भएकाले प्रदेश प्रमुख नियुक्ति गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली प्रकाशित गर्नुपर्ने छ । तर, प्रदेश प्रमुख नियुक्ति नहुँदा प्रदेशका सांसदको सपथ हुन सकेको छैन । आयोगले भनेको छ – ‘प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेश सभा सदस्य निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने कानूनी बाध्यताका कारण राष्ट्रियसभा सदस्यको निर्वाचन प्रक्रियामा समेत प्रभाव पर्न सक्ने सम्भावना देखिएकोले निर्वाचन आयोग प्रदेश प्रमुखको नियुक्ति हुन नसकेको अवस्थाप्रति गम्भीर भएको छ ।

तसर्थ, यथाशीघ्र प्रदेश प्रमुखको नियुक्ति हुने व्यवस्था मिलाउन नेपाल सरकारलाई पुनः अनुरोध गरी गृह मन्त्रालय मार्फत लेखी पठाउनु ।’  आयोगले पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको र पुस २९ गते सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको जनाएको छ ।

आयोगले माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने, माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र माघ १५ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको जनाएको छ । यसअघि निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूले सरकारलाई छिटोभन्दा छिटो प्रमुख नियुक्तिका लागि आग्रह गरेका थिए । मन्त्रिपरिषद्को बिहिबारको बैठकले प्रदेश प्रमुख नियुक्ति गर्ने अपेक्षा गरिएको थियो । तर, मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजनीति टुङ्गो लगाउन सकेन ।

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्