Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नर्सहरुको आन्दोलन : एक घन्टा देशैभरि नर्सिङ सेवा ठप्प

काठमाडौं : आन्दोलनरत नर्सहरुले एक घन्टा काम छोडेका छन् । उनीहरुले आज बिहान १० बजेदेखि ११ बजेसम्म अस्पतालबाहिर निस्किएर काम छाडेका हुन् । जसका कारण देशैभरि नर्सिङ सेवा ठप्प भएको छ । घोषित आन्दोलन अनुसार उनीहरुले बुधबारदेखि नै हातमा कालोपट्टी बाँधेर सेवा दिइरहेका थिए ।

उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त अविलम्ब पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गरिनुपर्ने लगायतका माग राखेका छन् ।

त्रिवि शिक्षण अस्पताल, वीर, गंगालाल जस्ता ठूला अस्पतालका नर्सहरुले १० बजे नै काम छाडेको निस्किएको नर्स दुर्गा सापकोटाले जानकारी दिइन् । ११ बुँदे माग अघि सार्दै नेपाल नर्सिङ संघको आह्वानमा नर्सहरु आन्दोलनमा छन् । उनीहरुले ३० गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा एक घन्टासम्म ड्युटी छाड्ने निर्णय गरेका छन् ।

उक्त अवधिमा पनि माग पूरा नभए माघ १, २ र ३ गते १० देखि १ अर्थात् ३ घन्टा ड्युटी छाड्ने उनीहरुले चेतावनी दिएका छन् । त्यसैगरी ४, ५ र ६ गते सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने कार्यक्रम तय भएको सापकोटाले बताइन् ।

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्