Logo
७ जेष्ठ २०८१, सोमबार
(January 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोगकै गल्ती गरेको भन्दै राजपा र राप्रपाले सच्याएनन् प्रदेश सांसदको नामावली

काठमाडाैँ : निर्वाचन आयोगले प्रदेश सभाको समानुपातिकतर्फको सूचीमा ‘क्लस्टर’ नमिलाई पठाएको भन्दै सच्याउन दिएको समयमा पनि दुई राजनीतिक दलले पुरानै नामावली पठाएका छन् । आयोगले राष्ट्रिय जनता पार्टी नेपाललाई प्रदेश नम्बर २ मा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रदेश नम्बर ३ मा पठाएको नामावलीमा समावेशी समूह र बन्दसूचीको क्रम आबद्धता नमिलेको भन्दै सच्याउन २० पुससम्म समयावधि दिएको थियो । तर, दुवै दलले आयोगको निर्देशन अटेर गर्दै पुरानै नामावली बुझाएका छन् ।

राजपाले प्रदेश नम्बर २ मा १० र राप्रपाले प्रदेश नम्बर ३ मा समानुपातिकतर्फ एक सिट पाएका थिए । पार्टीले पाएको सिटबारे जानकारी गराउँदै आयोगले राजपालाई प्रदेश नम्बर २ मा मधेसी पाँच, दलित दुई, आदिवासी जनजाति एक, थारू एक र मुस्लिम एकजनाको नाम माग गरेको थियो । आयोगको त्यही पत्रमा सातजना महिला र तीनजना अल्पसंख्यक समुदायबाट अनिवार्य पठाउनुपर्ने उल्लेख थियो । पत्रबमोजिम राजपाले महिलाको संख्या पु¥याए पनि अल्पसंख्यक समुदायको संख्या नपुगेकाले सच्याएर पठाउनुपर्ने थियो । तर, राजपाले सच्याएर पठाउने समयमा पनि पुरानै नामावली पठाएको हो ।

राजपाले प्रदेश नम्बर २ मा समानुपातिकतर्फको सूची टुंग्याउने जिम्मेवारी अध्यक्षमण्डललाई दिएको थियो । अध्यक्षमण्डलले पहिला आफूले गरेको निर्णय किन सच्याउने भन्दै पुरानै नामावली पठाएको हो । राजपाका एक नेताका अनुसार अध्यक्षमण्डलका सदस्यको रुचि र अहमताका कारण आयोगले मागेअनुरूप नाम नपठाइएको हो । ‘आफ्नै निर्णय किन उल्ट्याउने भन्ने अहमता अध्यक्षमण्डलका सदस्यमा देखिएपछि समस्या परेको हो,’ ती नेताले भने, ‘त्योभन्दा ठूलो समस्या ६ सदस्यका आ–आफ्नै इन्टे«स्टले निम्त्याएको हो ।’

राजपा अध्यक्षमण्डलका सदस्य अनिल झा गल्ती आफूहरूको नभई आयोगको भएको भन्दै पन्छिन खोजे । ‘एउटा विद्यार्थी चार/पाँचपटक फेल हुन सक्छ, पार्टीले आयोगले पठाएको पत्रको व्यहोरा नबुझेर फेरि पनि गल्ती गर्न सक्छ । दललाई बुझाउने र कानुनअनुरूप पुनः पठाऊ भन्ने त आयोगको काम नै हो । सच्याएर पठाएको पत्रमा पनि नमिले फेरि पत्र पठाउनुहुन्छ,’ उनले भने । राजपाले पाएको १० सिटमध्ये एकदेखि ६ सम्म बन्दसूचीको क्रमसंख्यामा रहेका बबिता कुमारी, नीलमदेवी भूमिहारिन, अञ्जु कुमारी, रामनरेश राय, जानकीशरण साह र डा. डिम्पल झाको नाम पठाएकाले समस्या नरहेको र बाँकी चार नाममा क्लस्टरअनुरूप नमिलेको आयोग स्रोतको भनाइ छ ।

त्यसपछि राजपाले सातौँ नम्बरमा २२औँ नम्बरमा रहेकी विभा ठाकुर, आठौँ नम्बरमा २७औँ नम्बरमा रहेका रामप्रवेश बैठा, नवौँ नम्बरमा २९औँ क्रमसूचीमा रहेकी लैला खातुन र १०औँ नम्बरमा बन्दसूचीको ३४औँ नम्बरमा रहेकी पुनम यादवको नाम पठाएको थियो । त्यो नमिलेको भन्दै आयोगले सच्याउन दिएको समयावधिमा राजपाले पुरानै नामावली पठाएको हो भन्दै नयाँपत्रिकामा समाचार छ ।

राप्रपाले प्रदेश नम्बर ३ मा पाएको एक सिटमा क्रमसंख्या २ मा रहेकी रीता माझीलाई पठाएपछि आयोगले नमिलेकाले सच्याउन भन्दै पत्राचार गरेको थियो । तर, सच्याएर पठाउँदा पनि उसले सोही नाम पठायो । राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले आयोगले जतिपटक मिलाएर पठाऊ भने पनि आफूहरूले त्यही नाम पठाउने बताए । ‘हामीले नाम पठाउनुपूर्व आयोगका पदाधिकारीसँग छलफल गर्दा मिल्छ भनेका हुन् र त्यहीअनुरूप नाम पठाएका हौँ । नाम सार्वजनिक भएर बधाई खाएपछि सच्याउन सकिन्न,’ श्रेष्ठले भने ।

आयोगले भने दलहरूले सच्याएर पठाएको नामावली कानुनअनुरूप भए मान्ने र नभए पहिला बुझाएको सूचीअनुरूप मिलाएर नाम सार्वजनिक गर्ने तयारी गरेको छ । ‘उहाँहरूले पठाएको कानुनअनुरूप भए त्यही नाम सदर हुन्छ, यदि छैन भने आयोगले दलहरूले पहिला नै बुझाएको सूचीमा कानुनअनुरूप क्लस्टर मिलाएर नतिजा घोषणा गर्छौं,’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने ।

प्रकाशित मिति: Jan 8, 2018

प्रतिक्रिया दिनुहोस्