Logo
७ जेष्ठ २०८१, सोमबार
(January 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलिय सहमतीका अधारमा प्रदेश प्रमुख र राजधानी तोक्दै सरकार

काठमाडौँ : सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सरकार सकेसम्म सबै दलको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने प्रयासमा रहेको बताएका छन् । आइतबार साँझ सञ्चारमन्त्री मोहनबहादुर बस्नेत मार्फत प्रधानमन्त्री देउवाले सरकार सहमतीमै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने मनस्थितिमा रहेको र त्यसका लागि एमाले र माओवादीको सहमती पर्खेर बसेको सन्देश सार्वजनिक गरेका हुन् ।

मन्त्री बस्नेतले आइतबार रासससँग कुरा गर्दै सम्भव भएसम्म सहमतिमै उक्त निर्णय गर्ने भनेर सरकारले पर्खेको स्पष्ट पारे । ‘अहिलेसम्म प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा सहमति जुटिसकेको छैन, सहमति भएन भने सोमबार मन्त्रिपरिषद्को बैैठक नबस्ने सम्भावना पनि छ’, मन्त्री बस्नेतले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले यी दुबै विषयमा सबै दलसँग सम्भव भएसम्म सरसल्लाह गरेर नै निर्णय गर्ने विचारले छलफल जारी राख्नुभएको छ ।’

सबैको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्दा प्रभावकारी र महत्वपूर्ण हुन्छ भन्ने प्रधानमन्त्री देउवाको मनसाय रहेको पनि मन्त्री बस्नेतले बताए। सबै दलको सहमति लिन खोज्दा केही ढिलाइ देखिएको भन्दै संविधान निर्माणमा सबै दलको सहमति र योगदान रहेकाले कार्यान्वयनमा पनि सहमति होस् भन्नेमा सरकार रहेको उनले स्पष्ट पारे । ‘तर दिन घर्किंदै गयो र ढिला हुन लाग्यो भने सरकारले निर्णय लिन्छ’, बस्नेतले भने।

बालुवाटरमा केही दिनअघि भएको सर्वदलीय बैठकमा अन्य दलले उक्त जिम्मेवारी सरकारको हो भने पनि दलले आफूले भनेजस्तो भएन भने विरोध गर्ने ठाउँ राखेको धारणा बस्नेतले व्यक्त गरे। उनले भने, ‘सबै दलले सरकारले निर्णय गरोस् हामी समर्थन गर्छौं भनेर स्पष्ट पारेभने हामी तत्काल निर्णय गर्छौं ।’

प्रदेश प्रमुख र अस्थायी केन्द्रको निर्णय एकैसाथ गर्नुपर्ने बताउँदै उनले एउटा मात्र निर्णय गर्दा अपूरो हुने जनाए ।राष्ट्रियसभा निर्वाचनका लागि त्यससम्बन्धी अध्यादेश जारी भएपछि प्रक्रिया अघि बढेको बताउँदै मन्त्री बस्नेतले निर्वाचनका सबै संवैधानिक प्रक्रिया पूरा गरेर सरकार सत्ता हस्तान्तरण गर्न आतुर रहेको स्पष्ट पारे। ‘राष्ट्रियसभा निर्वाचनअघि सरकारले चाहेर पनि सत्ता हस्तान्तरण गर्न सक्दैन’, उनले थपे।

निर्वाचनको सफलताले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका दिनसम्म पनि सरकार निर्वाचन गराउन चाहँदैन, सक्दैन भन्ने लाञ्छनाबाट सरकार मुक्त भएकामा गर्व गर्दै मन्त्री बस्नेतले भने, ‘निर्वाचन शान्तिपूर्ण रुपमा निर्धारित समयमा सफलतापूर्वक सम्पन्न भएको छ ।’ निर्वाचनमा कसले हार्र्यो, कसले जित्योभन्दा पनि मुलुक र जनताले जितेको धारणा व्यक्त गर्दै उनले भने, ‘हिजो काँग्रेसको नेतृत्वमा संविधान जारी भयो र आज हाम्रै पार्टीको नेतृत्वको सरकारको बेला कार्यान्वयन होस् भन्ने हाम्रो चाहना थियो, जुन पूरा भएको छ। यसमा हामी गर्व गर्छौं ।’

अब यो वा त्यो बहानामा राजनीतिक एजेण्डालाई सारेर होइन, एकजुट भएर मुलुक आर्थिक समृद्धिका लागि सबै लाग्नुपर्ने बताउँदै उनले हारजित निरन्तर चलिरहने गौण विषय हो भन्दै मुलुक एवं जनताले जित्ने विषय प्रमुख भएको उल्लेख गरे ।

 

 

प्रकाशित मिति: Jan 8, 2018

प्रतिक्रिया दिनुहोस्