Logo
७ जेष्ठ २०८१, सोमबार
(January 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली–प्रचण्डले एक साथ भने-‘पार्टी एकता भएरै छाड्छ’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले जसरी पनि पार्टी एकता गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । ओली निवास बालकोटमा आइतबार साँझ ८ बजेसम्म भएको वार्तामा दुवै नेताले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाएका हुन् ।

दुवै नेताबीच पार्टीको सांगठनिक र सैद्धान्तिक खाका कोर्न कार्यदल बनाउने सहमति भएको छ । एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि बुधबार थाइल्यान्ड जानुअघि नै पार्टी एकताको मूलभूत आधार तय गर्ने सहमति भएको छ ।चितवनमा रहेका माओवादी केन्द्र अध्यक्ष प्रचण्ड आइतबार काठमाडौं आउनासाथ एमाले अध्यक्षसँग ‘वान टु वान’ वार्ताका लागि बालकोट पुगेका थिए। दुवै नेताबीच डेढ घन्टासम्म छलफल चलेको थियो ।

‘एकता प्रयासमा भाँजो हाल्नेगरी पार्टीभित्र र बाहिरबाट जे–जस्तो चलखेल भएका छन् तिनलाई निस्तेज पार्दै अघि बढिनेछ,’ ओलीको भनाइ उद्धृत गर्दै निजी सचिव चेतन अधिकारीले भने, ‘छिटै पार्टी एकताको एकीकृत खाका तय हुनेछ ।’ यसैगरी, भेटमा नयाँ सरकार गठनको विषयमा पनि छलफल भएको थियो । सरकार गठनको विषयलाई सहमतिमै टुंग्याउन दुवै नेता सहमत भएका छन् ।

 

प्रकाशित मिति: Jan 7, 2018

प्रतिक्रिया दिनुहोस्