जग्गा दलाल र ब्यपारीहरुको अगुवाईमा विभिन्न स्थानमा विरोध र धर्ना
काठमाडौँ : जग्गा दलाल र ब्यपारीहरुको अगुवाईमा देशका विभिन्न स्थानमा प्रदेश राजधानीको माग गर्दै विरोधमा उत्रिएका छन् । स्थानिय पत्रकारहरुका अनुसार प्रत्येक प्रर्दशन र बिरोधको अगवाई भने जग्गा दलाल बिभिन्न ब्यापारीहरुले गर्दै आएका छन् । स्थानिय सर्वसाधारणको भने खासै चासो रहेको पाइदैन । केहि लहेलहैमा लागेका छन् होला तर स्थानियको खासै चासो देखिदैन धनकुटा स्थित पत्रकार सन्तोष राईले बताए ।
यता, प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाइनुपर्ने माग गर्दै धनकुटामा आमहडताल नै सुरु गरेका छन् । यस्तै १ कै राजधानी बनाइपुपर्ने माग धरानको पनि छ । धरानवासीको मागलाई उपमहानगरपालीकाका प्रतिनिधिले कुटनीतिक तवरबाट उठाइरहेका छन् । प्रदेश ५ को राजधानी बनाइनुपर्ने मागसहित आज रुपन्देहीमा पनि प्रदर्शन भएको छ ।धनकुटा प्रादेशिक राजधानी माग गर्दै धनकुटामा दुई दिनदेखि जारी आमहड्तालले त्यहॉको जनजीवन थप प्रभावित बन्दै गएको छ । प्रदेश नं.१ को राजधानी माग गर्दै एक महिनादेखि आन्दोलनमा उत्रिएका धनकुटावासीले आन्दोलनलाई थप सशक्त पार्दै गएका छन् । यसैक्रममा हिजोदेखि आमहडताल आव्हान गरिएको हो। बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड ठप्प रहेको छ ।
मोटरसाइकल समेत चल्न दिइएको छैन । बिहानैदेखि बन्दकर्ताहरुले धनकुटाको जीरो प्वाइन्ट र आत्मारा ढाट लगायतका स्थानमा प्रदर्शन थालेका छन् । धरान– प्रदेश १ को राजधानीकालागि पुर्वका विभिन्न ठाउँमा खिचातानी, बन्द हड्ताल र तोडफोड भइरहेको बेला धरान उपमहानगरपालिकाका उपप्रमुख मन्जु भण्डारी सुवेदीको नेतृत्वमा काठमाडौं पुगेको सर्वदलीय सर्वपक्षीय प्रतिनिधी मण्डलले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै राजधानीकालागि सर्वदलीय सहमति खोज्न माग गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालई प्रधानमन्त्री निवास बालुटारमा भेटी धरानका प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको हो। प्रतिनिधि मण्डल र प्रम देउवावीच एक घण्टासम्म भएको छलफलमा राजधानीकालागि धरानको भौतिक पुर्वाधार, पर्यावरण, एतिहासिकता, पहिचान, प्रदेशवासी नागरिकको सहज आवगमन र तत्काल कार्यालयहरु सन्चालनको लासग सुविधा सम्पन्न सुरक्षित भवनहरु रहेको विषयमा विस्तृत आधारहरु प्रस्तुत गरेको उपप्रमुख भण्डारीले बताइन्। उनले धरानलाई राजधानी घोषणा नगरेसम्म प्रतिनिधि मण्डल धरान नफर्कने बताइन् ।
त्यस्तै, प्रदेश नम्बर ५ को राजधानी बुटवलमा हुनपर्ने माग गर्दै रुपन्देहीमा आन्दोलन तथा विरोधका कार्यक्रम सुरु भएका छन् । राजनीतिक दल र तिनका विद्यार्थी संगठनले विरोधका कार्यक्रम सुरु गरेका हुन् । दाङमा प्रदेश राजधानी तोक्ने प्रस्ताव विरुद्ध नेपाली कांग्रेसले आज बुटवलमा एक घण्टा चक्काजाम गरेको छ । बिहान ९ बजेदेखि १० बजेसम्म पूर्व–पश्चिम राजमार्गको पुष्पलाल पार्कमा चक्काजाम गरेको हो ।