Logo
५ जेष्ठ २०८१, शनिबार
(January 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा निर्वाचनपछि मात्र समानुपातिकको परिणाम घोषणा

काठमाडौंं : निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि मात्र प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन परिणाम सार्वजनिक गर्न सकिने बताएको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै परिणाम सार्वजनिक गर्न आयोग आतुर हुँदाहुँदै पनि संवैधानिक र कानुनी अड्चनका कारण परिणाम सार्वजनिक गर्न नसकिने जनाएको हो ।

आयोगले संविधानको धारा ८४ को (८) र प्रतिनिधिसभा सदस्य ऐन २०७४ को दफा ६० (४) अनुसार राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको सिट तोक्न र दलहरूलाई बन्दसूचीमा रहेका उम्मेदवारमध्ये विजयी हुने उम्मेदवारको नाम सिफारिस गर्न आयोग असमर्थ रहेको प्रस्ट पारेको हो ।

आयोगले संवैधानिक बाध्यताको ख्यालै नगरी केही दलले आयोगको मानमर्दन हुने गरी अराजक गतिविधि सञ्चालन गरेकोमा आपत्तिसमेत जनाएको छ । विज्ञप्तिमा संविधान र कानुनले तोकेको विधि एवं प्रक्रियालाई नजरअन्दाज गरी उत्तेजना फैलाउन तथा संवैधानिक आयोगको मानमर्दन हुने गरी आयोगलाई लाञ्छना लगाउने क्रियाकलाप नगर्न÷नगराउन सम्वन्धित पक्षसँग आग्रह गरिएको छ ।

राष्ट्रिय सभा निर्वाचनको तयारी
आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि तयारी तिव्र पारेको जनाएको छ । राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश प्रमाणीकरण भएपछि राष्ट्रियसभा निर्वाचन तयारीलाई आयोगले तीव्र बनाएको हो । आयोगले सरकारलाई चाँडै राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्न समेत अपील गरेको छ ।

सरकारको ध्यानाकर्षण
आयोगले छिटोभन्दा छिटो प्रदेश प्रमुखहरूको नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँड गरी दलहरूले प्राप्त गरेको सिट तोक्ने कार्य सम्पन्न भइसकेको भन्दै आयोगले चाँडै प्रदेशसभाको निर्वाचन परिणाम सहितको प्रतिवेदन घोषणा गर्न लागेको बताएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था रहेको भन्दै आयोगले सरकारलाई छिटो प्रदेश प्रमुख तोक्न आग्रह गरेको हो ।

प्रकाशित मिति: Jan 4, 2018

प्रतिक्रिया दिनुहोस्