Logo
७ जेष्ठ २०८१, सोमबार
(January 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रलाई आफूतिर तान्न आन्तरिक रणनीतिक छलफलमा कांग्रेस

काठमाडौं : समसामयीक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेपाली कांग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । नेपाली कांग्रेस एमाले–माओवादीको वाम गठबन्धन तोडाएर माओवादी केन्द्रलाई आफूतिर तान्ने रणनीतिमा रहेको बताइएको छ । यही रणनीतिअनुसार कांग्रेसका नेताहरुले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने सार्वजनिक अभिव्यक्तिसमेत दिँदै आएको वाम गठबन्धनका नेताहरूको भनाइ छ ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार छलफलका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाइएको छ । बैठकमा खासगरी वाम गठबन्धनको नेतृत्वमा बन्ने आगामी सरकार र सत्ता हस्तान्तरणबारे छलफल केन्द्रित हुने बताइएको छ ।

उता, यही सेरोफेरोमा माओवादीले पनि आजै हेडक्वार्टर बैठक बोलाएको छ । माओवादी नेताहरुले एमालेसँग पार्टी एकता गर्ने र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने बताउँदै आएका छन् । ओली प्रधानमन्त्री बनेपछि प्रचण्डले एकीकृत पार्टीको नेतृत्व गर्ने माओवादी नेताहरुको भनाइ छ ।

प्रकाशित मिति: Jan 2, 2018

प्रतिक्रिया दिनुहोस्