Logo
२९ असार २०८२, आईतबार
(January 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगमा पुगेर राष्ट्रिय सभाको निर्वाचन मिति चाँडो तोक्न माग

काठमाडौँ : नेकपा एमाले र माओवादी नेतृत्वको वाम गठबन्धनले राष्ट्रिय सभाको निर्वाचन मिति चाँडो तोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । एमाले र माओवादी नेताहरुको संयुक्त टोली सोमबार दिउँसो निर्वाचन आयोगमा पुगेर राष्ट्रिय सभाको निर्वाचन मिति चाँडो तोक्न माग गर्दै दबाव दिएको हो ।

आयोगमा दबाव दिन एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल तथा माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुनसहितका नेता पुगेका थिए । प्रमुख निर्वाचन आयुक्तसहितको निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर वामको टोलीले राष्ट्रपतिले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश पनि पारित गरिसकेको अवस्थामा निर्वाचन मिति तोक्न ढिलाइ नगर्न आग्रह गरिएको एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

‘जनताबाट नयाँ जनादेश आइसकेको छ । राष्ट्रपतिबाट राष्ट्रिय सभा गठनसम्बन्धी विधेयक पनि पारित भइसकेको छ’, रावलले भने, ‘सबै बाटो खुलिसक्दा पनि निर्वाचन आयोगले ढिलाइ गरेपछि हामीले दबाव दिएका हौँ ।’ वामका नेताहरुले प्रतिनिधि सभा समानुपातिकतर्फको मतपरिणाम पनि तत्काल सार्वजनिक गर्न दबाव दिएका छन् । भेटका क्रममा प्रमुख आयुक्त यादवले आयोग मतपरणिाम अनन्तकालसम्म लैजाने पक्षमा नरहेको जवाफ दिएका थिए ।

 

प्रकाशित मिति: Jan 1, 2018

प्रतिक्रिया दिनुहोस्