Logo
७ जेष्ठ २०८१, सोमबार
(January 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अलमलमा वाम एकता प्रक्रिया : लत्रिएर एकतामा सामेल नहुने माओवादीको जवाफ

काठमाडौं : एमालेका कारण वाम एकता अलमलमा परेको छ । एकता प्रक्रिया एकीकृत पार्टीको नेतृत्वमा एमालेले भाजो अड्काउँदा एकता प्रक्रिया अन्योलमा परेको हो ।

वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमतीका निम्ति छलफल चलेपनि ठोस प्रक्रिया अघि बढ्न सकेको छैन् । नयाँ सरकार गठनअगावै एकता टुंग्याउने गरी नियमित छलफल चलिरहेको नेताहरुले बताएपनि सहमती हुनेमा त्यती छाटकाट देखिन्न । समस्याको मुख्य कारण भनेको, दुई नेताबीचको छलफल एकीकृत पार्टीको नेतृत्वमा अड्किएको बुझिएको छ ।

एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बन्न दुबै पार्टीले स्वीकारेपनि माओवादीलाई पार्टी अध्यक्ष दिन एमालेले किनै आनाकानी गरेको छ । माओवादीले एकीकृत पार्टीको नेतृत्वमा दाबी गरेको छ । तर, एमालेले भने महाधिवेशनअगावै त्यसरी जाँदा विधान र पद्धति कमजोर हुने भन्दै दुवै पार्टी प्रमुख बन्ने मोडलमा सहमति खोज्नुपर्नेमा जोड दिएको छ । स्रोतका अनुसार एमालेले ओली अध्यक्ष र प्रचण्ड सहअध्यक्ष रहने या दुवै महाधिवेशन आयोजक समितिको संयोजक रहने गरी सहमतिमा पुग्न सकिने अडान राखेको बुझिएको छ ।

स्रोतका अनुसार एमालेले केन्द्रमा दुवै पार्टीका शीर्ष नेताहरू रहेको महाधिवेशन तयारी सचिवालय बनाएर ६०/४० कै अनुपातमा दुवै पार्टीको केन्द्रीय समिति मिलाएर महाधिवेशन आयोजक समिति बनाएर जाने अडान समेत लिएको बताइएको छ । यता,माओवादी अध्यक्ष प्रचण्डले भने एमालेलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक रोज्न प्रस्ताव गरेका छन् ।

नेता देवेन्द्र पौडेलले प्रचण्डले दुईमध्ये एक पद माओवादीले पाउनुपर्ने प्रस्ताव गरेको खुलासा गरे । ‘माओवादी आफैँले अध्यक्ष वा प्रधानमन्त्री लिन्छु भन्दा वाम गठबन्धन अघि बढाउन सहज नहुने भएकाले पहिला एमालेको रोजाइपछि एक पद लिने प्रचण्डले मनस्थिति बनाउनुभएको छ,’ पौडेलले भने ।

सम्मानजक अवस्था नदेखिए एकता सहज नहुने प्रचण्डले निकटस्थ नेताहरूले बताउँदै आएका छन् । ‘प्रतिनिधिसभामा तेस्रो शक्तिका रूपमा सिट जित्नु राम्रै पोजिसन हो, एमाले सम्मानजनक एकताका लागि तयार नभए असहजता पैदा हुन पनि सक्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘धेरैजसो प्रदेश सभामा माओवादी किङ मेकर नै छ, त्यसैले माओवादी लत्रिएर एकताका लागि हतारिहाल्नुपर्ने आवश्यकता छैन ।

प्रकाशित मिति: Jan 1, 2018

प्रतिक्रिया दिनुहोस्